काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मुख्य निशाना बनाइएका काँग्रेस सभापति शेरबहादुर देउवा उक्त आन्दोलनपछि खासै सार्वजनिक रुपमा देखिएका छैनन् । गत असोज २८ गते केन्द्रिय कार्य समिति बैठकमार्फत सार्वजनिक भएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका देउवा त्यसपछि पर्दापछाडिबाटै रोल खेलिरहेका छन् । पार्टीमा नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको माग तीव्र बनेका बेला उनले कार्यवाहक जिम्मेवारी सुम्पेर केही प्रशंसा बटुले । तर उनको कुटिल चाल धेरैले बुझेनन् । चुनावअघि मंसिरमा महाधिवेशन गर्न सकिनेबारे पार्टीमा छलफल चले पनि अहिले देउवा पक्षीय नेताहरुको अलग्गै भेला बसेर महाधिवेशन पर धकेल्ने रणनीति बुनिरहेको बुझिन्छ ।
केही दिनअघि काँग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक नेतृत्वलाई नै हस्ताक्षर बुझाएका छन् । महामन्त्री गगन थापाको अगुवाइमा संकलित ५३ प्रतिशत हस्ताक्षरले स्पष्ट रुपमा विशेष महाधिवेशनको पक्षमा बहुमत जनाए पनि संस्थापन पक्षले त्यसलाई भाउ दिएको छैन । जेनजी आन्दोलनपछि सभापति देउवामाथि पद छोड्न दबाब दिँदै आएका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले मंसिरभित्रै विशेष महाधिवेशन माग गरेका छन् । हस्ताक्षरसहितको निवेदन बुझाउँदै उनीहरुले नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको माग गरेका पार्टीका नेता गुरु घिमिरे बताउँछन् । आफूहरुको सो कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रिय कार्य समितिको क्षेत्राधिकार भित्र रहेर अघि बढाइएको उनको भनाइ छ ।
तर कार्यवाहक सभापति खड्काले पार्टीको विशेष महाधिवेशन नहुने र नियमित महाधिवेशन हुने बताएका छन् । सोमवार नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा उनले प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको भए पनि नियमित महाधिवेशनमार्फत नै सो समस्या समाधान हुने तर्क गरे । कार्यवाहक सभापति खड्काले पार्टीको चालु केन्द्रिय कार्य समिति बैठकले मुलुकलाई निकास दिनेगरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबी समेत गरे । पार्टीको आन्तरिक एकतामा जोड दिँदै खड्काले काँग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रुपमा भुमिका खेल्ने गरी आवश्यक निर्णय लिने दाबी गरे । विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने उनको दाबी छ ।
नियमित महाधिवेशनमा जाने कार्यवाहक सभापतिले बताइसकेपछि अब उक्त महाधिवेशन आगामी प्रतिनिधिसभा निर्वाचन (फागनु २१) पछि नै हुने अड्कल गरिएको छ । संस्थापन पक्षका नेताहरुको गोप्य बैठकले यही रणनीति बनाइरहेको बुझिएको छ । यद्यपि पार्टीभित्र फरकफरक समूह रहेकाले केन्द्रिय कार्य समिति बैठकमा थप छलफल भएर मात्रै उक्त विषयमा आवश्यक निर्णय लिइने बताइएको छ । असोज २८ को बैठकमा सभापति देउवाले पनि पार्टीको १५ औं नियमित महाधिवेशन गराएरै आपूmले नेतृत्व पूर्णरुपमा छोडने बताएका थिए । उनले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छाले पनि अब नेतृत्वमा नरहने बताएका थिए ।
जेनजी आन्दोलनका क्रममा घाइते भएर स्वदेशमै स्वास्थ्य लाभ गरिसकेका देउवा सोमबार राति सुटुक्क सिंगापुर गएका छन् । थप उपचारको लागि उनी पत्नी आरजु राणासहित सिंगापुर गएको पार्टीले औपचारिक रूपमा जानकारी गराएको छ । त्रिभुवन विमानस्थलमा ठमठम हिँडेर नै गएका देउवा दम्पती सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा भने ह्विलचियरमा देखिएका छन् । सिंगापुरमा कति समय बस्छन् र त्यहाँबाट उनको आगामी रणनीति तथा कदम के हुनसक्छ, आम चासोको विषय बनेको छ । सरकारले उनीहरुको पासपोर्ट रोक्का गर्ने हल्ला चले पनि अहिले सिंगापुर पुगिसकेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
