काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताएका छन् । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उनले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्त्री खरेलले भने, ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुदैन र बन्द गरिदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु । नयाँ मुलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जालहरु कहिले पनि बन्द हुनु हुँदैन । बन्द गरिने छैन । कुनैपनि सञ्चार माध्यम समेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु । दोस्रो कुरा के हो भने सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । जिम्मेवार बनाउनुपर्छ । सञ्चारमन्त्रीको रुपमा मेरो प्राथमिकता पनि यही नै हो । तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन । सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ र महशुस पनि हुनुपर्छ । त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ पनि देखिन्छ पनि र महसुश हुन्छ पनि । अनलाइन पत्रकारहरुको तालिमका लागि पनि आवश्यक पहल गर्छु । डिजिटल मिडियासँग सम्बन्धीत संस्थाहरुले संस्थागत रुपमा आउनुभयो भने मन्त्रालय त्यसका लागि पनि तयार छ । अनलाइन तथा पत्रपत्रिकाको दर्ता प्रक्रियाको विषयले मलाई पनि पीडा महसुश भइरहेको छ । त्यसकारण मैले पहिलो क्याबिनेटबाटै दर्ता प्रक्रिया सूचना विभागबाट हुने निर्णय गराएँ ।’
उनले अनलाइन लगायतका सञ्चारमाध्यमहरुको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको पनि स्मरण गराए ।
