News 24 Television
जेनजी समूहकै शंकामा प्रधानमन्त्री कार्की, के होला निकास ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की जेनजी समूहबाटै घेरिएकी छन् । भदौ २३ र २४ को जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री बनेकी सुशीलाई जेनजीबाटै घेराबन्दी भइरहेको छ । विभिन्न समूहमा रहेका जेनजीहरुले विभिन्न मुद्धामार्फत प्रधानमन्त्रीमाथि दवाब बढाइरहेका छन् । अघिल्लो पटक प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारको तयारी गर्दा पनि प्रारम्भिक चरणको मन्त्री छनौँटको विषयलाई लिएर उनीमाथि जेनजीबाटै घेराबन्दी भएको थियो । मन्त्री छनौँटप्रति असन्तुष्ट जेनजी समूहले राष्ट्रपति कार्यालय नै घेराउ गरेका थिए । 

त्यो बेला जेनजी समूहका प्रतिनधिले एक पक्षिय जेनजीलाई मात्रै सम्वादमा बोलाइएको भन्दै सुशीला कार्कीमाथि आक्रोश पोखेका थिए । जेनजीहरुको उक्त दवावकै कारण त्यो बेला मन्त्रिमण्डल विस्तारको तयारीसमेत रोकिन पुगेको थियो । यसपछि विभिन्न जेनजी समूहहरु आ-आफ्नै गतिमा चल्दा सरकार नै अन्योलतामा छ । जेनजी आन्दोलनमार्फत नै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर नयाँ सरकार गठन भएपनि जेनजीहरु एकीकृत ढंगले चल्न सकेका छैनन् । उनीहरु संगठित भएर चल्न नसकेकै कारण सरकार मात्रै होइन, जेनजी आन्दोलन र आमजनता नै अन्योलताको देखिएका छन् ।

संगठित हुने भन्दै सरकारमाथि दवाब  

जेनजी समूहले एकताका लागि भन्दै माईतिघरमा प्रदर्शन गर्दै आएको छ । तर सरकारले उक्त आन्दोलनलाई सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो । तर यसको विरोधमा उनीहरु अझ आक्रामक रुपमा प्रस्तुत भए । आफूहरुको एकीकृत हुने योजनामा सरकार नै बाधक भएको भन्दै उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई नै निशाना बनाइरहेका छन् । 

मुख्यतः जेनजीहरुले सरकारले शहीदहरु सपना पूरा गर्न नसकेको भन्दै खबरदारी थालेका छन् । उनीहरुले वर्तमान सरकारले जेनजी आन्दोलनको मर्म पूरा गर्न सक्नेमा पनि शंका व्यत्ति गरिरहेका छन् । खासगरी जेनजी आन्दोलनको मुख्य एजेण्डा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र प्रत्यक्ष निर्वाचन कार्यकारी प्रमुखको व्यवस्थामा जानु भन्नेछ । तर यस्तो एजेण्डामा सरकार अघि बढ्न नसकेको जेजनी तथा जेनजी आन्दोलनका शहिद परिवारको आरोप छ । 

अर्कोतर्फ जेनजीकै अन्य समूहले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग पनि अघि सारेका छन् । जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर मुलुकलाई निकास दिन राजनीतिक दलहरुसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग अघि सारको हो । राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेन–जी आन्दोलनका प्रतिनिधि सम्मलित सरकार गठन हुनुपर्ने माग गरिएको छ । 

संघर्ष समितिले सो सरकार गठनका लागि सहयोग गर्न काँग्रेस, एमाले लगायतका पुराना राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ । नयाँ सरकार गठनका लागि आफूहरुले विभिन्न राजनीतिक दलहरुसँगको छलफललाई अघि बढाईसकेको उक्त समितिले दावी गरेको छ । यसरी जेनजी आन्दोलनकै जगबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई जेनजीकै विभिन्न समूहले शंका–उपशंका गर्दा वर्तमान अन्तरिम सरकारपनि शंकटको डिलमा पुगेको छ । 

जेनजीकै विभिन्न समूहले सरकारमाथि शंकासहित विकल्प नै खोजिनुपर्ने धारणाहरु सार्वजनिक भइराख्दा समाधान खोज्न भन्दै प्रधानमन्त्री कार्कीले बुधबार नै राजनीतिक दल, जेनजी प्रतिनिधि र सरकार पक्षसहित त्रिपक्षिय बैठकको आह्वान गरेकी छन् । तर यो बैठकले समस्याको समाधान गर्न कतिको सघाउ पुग्ला ? त्यो पर्खाइको विषय बनेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update