काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुका कारणहरु स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनीहरुले सम्पन्न हुनै लागेका सो आयोजनाहरु पूरा गर्ने दिशामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराएका छन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न सरकारसँग माग गरे । उनले राष्ट्रिय गौरवको आयोजनाबारे पुनरावलोकन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद श्रेष्ठले भने, ‘यो गएको बजेटमा राष्ट्रिय गौरको आयोजनाहरुको पुनरावलोकन गर्ने भन्ने नीति पनि सरकारको आएको छ । यस विषयमा हामीले पनि प्रश्न उठाउने गरेका छौं । तर कस्तो आयोजनालाई हामीले राष्ट्रिय गौरवको आयोजना मान्ने त ? यस विषयमा हामीले पनि केही सुझाव दिनसक्छौँ कि सक्दैनौं ? राष्ट्रिय गौरवका आयोजना यो यो हुन भनेर सरकारलाई ठोस सुझाव दिनसक्यौँ भने सार्थकता हुन्छ कि भन्ने मलाई लागेको छ । मन्त्रालयहरुले आफूले भनेको काम किन राष्ट्रिय गौरवको आयोजनामा गर्न सकेन भन्नेकुरा प्रष्ट हुनुपर्छ । त्यसो भयो भने सम्बन्धित मन्त्रालय आफ्नो काम गर्न बढी शतर्क हुन्छ कि । यो काममा गम्भिर बन्नुपर्छ ।’
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवका आयोजनाबारे अनुगमन गरेर त्यसको पछिल्लो अवस्थाबारे सरकारसँग जानकारी लिन उपयुक्त हुने धारणा राखे । उनले आगामी निर्वाचन र मुलुकको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई बोलाएर छलफल गर्न पनि उपयुक्त हुने सुझाव राखे ।
सांसद आछामीले भने, 'राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुको कारणबारे अनुगमन गर्ने र सरकारसँग छलफल गरेर अघि बढने कुरालाई जोड दिनुपर्छ । यस विषयमा सम्भव भयो भने प्रधानमन्त्री, मन्त्रीहरुसँग पनि अहिलेको लेटेष्ट सिचुएसनको बारेमा पनि र निर्वाचन पनि हुने भएकाले यसको बारेमा पनि छलफल गर्नका लागि वातावरण बनाउन उपयुक्त हुन्छ ।'
सांसद राजेन्द्रलक्ष्मी गैरले सम्पन्न हुने अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको काममा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराइन् । उनले कर्णाली प्रदेशका सो आयोजना अघि बढाउने काममा सरकार केन्द्रित हुनुपर्ने समेत बताइन् ।
सद गैरले भनिन्, ‘जहाँ थोरैथोरै काम गर्दा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने अवस्थामा छ, ती योजनाहरु हामीले हेर्नुपर्छ होला । कालीगण्डकी करिडोरकै कुरा गरौं । यसको पाल्पा खण्डको केही भागहरु सम्पन्न भईसकेको छ । केही बाँकी छ । पर्वत खण्ड पनि केही मात्रै बाँकी छ । त्यसैले यो सम्पन्न हुने चरणमा अगाडि छ । यसमा पाल्पाको रानीमहल खण्ड र पर्वतको अलिकति खण्ड हेर्दा करिव करिव सम्पन्न हुने चरणमा छ । यो अगाडि बढाउनुपर्ने देख्छु मैले । कर्णाली प्रदेशका योजनाहरुको कुरा पनि छ । त्यसमा अनुगमनका लागि जाने कि नजाने भन्ने विषयमा पनि निष्कर्षमा पुगौं ।’
सांसद गैरले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमनको कामलाई पनि प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
