काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक ढाँचाकाचामा स्पष्ट बदलाव ल्याउने देखिएको छ । आगामी फागुन २१ का लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकोमा एमालेबाहेक सबै दल निर्वाचन केन्द्रित भइसकेका छन् । पुराना दलहरु संसद पुनस्थापना कि निर्वाचन भन्ने विषयमै अलमल गरिरहँदा नयाँ दलहरु वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केन्द्रित देखिन्छन् । विशेषगरी जनताले पछिल्लो समय रुचाएको रवि लामिछाने नेतृत्वको रास्वपालाई नै बृहत् रुपमा वैकल्पिक शक्ति बनाउन सकिन्छ कि भनेर विभिन्न प्रयासहरु भइरहेका छन् । काठमाडौँ महानगरका मेयर बालेन शाहदेखि, ऊर्जामन्त्री कुलमान घिसिङ र कलाकारहरुको एउटा समूह रास्वपामा मिसिनेबारे विभिन्न चर्चा र अड्कलबाजी भइरहेका छन् । यद्यपि बालेन–कुलमानको लाइन स्पष्ट भइसकेको छैन ।
यसैबीच, रास्वपाले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि भन्दै ‘बृहत् राजनीतिक संवाद’ थालेको छ । शुक्रबार बालुवाटारस्थित एक होटलमा आयोजना गरिएको संवाद कार्यक्रममा पूर्व–प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेलगायत नेताहरु सहभागी थिए । रास्वपाले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि यो कार्यक्रम आयोजना गरेको बताएको छ । उपसभापति वाग्लेका अनुसार नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक र नवयुवा पुस्ताबीच सहकार्य नहुँदा पश्चगमनको सम्भावना बढ्ने यथार्थलाई मध्यनजर गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको हो ।
संवादमा सहभागी हुँदै डा. भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताए । भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए । उनले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले मिलेर अघि बढ्दा नै उपयुक्त हुने धारणा राखे । रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम थारुले आगामी चुनावमा भाग लिन पाउनुपर्ने, अन्यथा देशमा चुनाव हुन नदिने दाबी गरे । उनले सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन नसक्ने जिकिर गर्दै शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको राजनीतिक इतिहासबारे प्रश्न उठाए ।
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उक्त आन्दोलनले सबै दलहरुमा रुपान्तरणको चाप बढाएको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने उनको भनाइ छ ।
रास्वपा नेतृत्वमा रविको विकल्प खोज्दै कुलमान लगायत अन्य व्यक्ति ल्याएमा बालेनको समर्थन रहने चर्चासम्म भयो । तर रास्वपा केन्द्रीय सदस्य दीपक बोहरा र पूर्व सांसद सोविता गौतम लगायतले रविको विकल्प रवि नै भएको बताउँदै आएका छन् । ‘रविलाई बाइपास गरेर स्वाट्ट रास्वपामा छिरुँला र सभापति बनुँला भनेर कसैले नसोचे हुन्छ,’ यो सोविताको अभिव्यक्ति हो । उता बोहरा भन्छन्– ‘धेरैले रास्वपालाई अझै पनि वैकल्पिक राजनीतिक दल भन्छन्, तर, उपस्थिति, एजेण्डा र जनसमर्थनका हिसावले यो पार्टी मूलधारकै मुख्य शक्ति भइसक्यो । तर पनि हामी यसलाई अझै विस्तार, सुदृढ र परिवर्तन पक्षधर सबै शक्ति, समूह र व्यक्तिको साझा केन्द्र बनाउन प्रतिबद्ध छौँ र, खुला पनि ।’
बोहराले आफ्नै नीति, नेतृत्व र सांगठनिक संरचना भएकाले रास्वपासँग साझा केन्द्र बनाउने हकमा केही सीमा रहेको बताएका छन् । अघिल्लो संसदीय निर्वाचनले परिवर्तन चौथो शक्तिको रुपमा स्थापित गरेको र त्यसपछि वैकल्पिक हुँदै मूलधारकै राजनीतिमा दबाव र प्रभाव राखेका कारण परिवर्तन पक्षधर शक्ति, समूह र व्यक्तिलाई एकीकृत गर्ने अभियानको अगुवाई पनि रास्वपाकै हो रहेको उनको भनाइ छ ।
रास्वपा नेताहरुकै भनाइबाट के स्पष्ट हुन्छ भने रास्वपा पछिल्लो उदाउँदो वैकल्पिक शक्ति हो, जसले अन्य साना दल र समूहलाई आफूमा संगठित गर्न सक्छ । यद्यपि सहकारी ठगी आरोपमा थुनमा रहेका रविले सफाइ पाउने आशासहित रास्वपाले नेतृत्वमा रविको विकल्प स्वीकार्दैैन । बरु रविकै नेतृत्वमा अन्य दल र समूहलाई एकीकृत बनाउने प्रयासमा रास्वपा देखिन्छ ।
