News 24 Television
विगतका सहमति कार्यान्वयन गर्ने मन्त्रीको आश्वासनपछि हट्यो अवरोध

काठमाडौँ । काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् । उपत्यकाका सडकहरू फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गरी समाधानको पहल गर्न आइतबार बन्चरेडाँडाको अनुगमनमा निस्किएका हुन् । सो क्रममा मन्त्री घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले वातावरणीय प्रभाव मूल्याङ्कन बाहेक अन्य मागहरु १५ दिनभित्र पूरा गर्ने बताइका छन् । 

ल्यान्डफिल्ड साइटको वातावरणीय प्रभाव मूल्याङ्कन भने पुस महिनापछि हुने र सो कार्यका लागि परामर्शदाता छनौट गरी काम भइरहेको घिसिङले जानकारी दिए । ल्यान्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने उनको भनाई छ । मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए । स्थानीयवासी र नगरपालिकाबीच २०७९ मा भएको १८ बुँदे सहमति र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यन्वयनमा नआएको स्वीकार गर्दै उनले स्थानीयवासीसँग भएको सम्झौतालाई अनिवार्य कार्यन्वयन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । 

फोहोर व्यवस्थापनको काम रातीको समयमा गर्न समेत मन्त्री घिसिङले निर्देशन दिएका छन् । राति काम गर्नका लागि उहाँले विद्युतको व्यवस्थापन गर्न उनले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिए । सो क्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सहमति गर्ने तर त्यसलाई कार्यन्वयन नगर्ने प्रचलन बसेको भन्दै घिसिङसँग असन्तुष्टि जनाएका थिए । नागरिकले आन्दोलन नगरेसम्म निदाएर बस्ने प्रचलन अन्त्य गर्नुपर्ने उनको माग छ । स्थानीयले नयाँ कुनै माग नराखेको भन्दै उनले सरकारसँग विगतमा भएको जमिनको रेखाङ्कन, मूल्याङकन, अधिकरण, निक्षेपको व्यवस्थापन सम्बन्धि भएको सहमति कार्यन्वयन गर्न आग्रह गरे । 

मन्त्री घिसिङले स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएपछि बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न पाँच दिन यता भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्यान्डफिल्डसाइटतर्फ गएका छन् । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका थिए । टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुका साथै ल्यान्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको हो ।

काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल ल्यान्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बन्चरेडाँडा ल्यान्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो । तर विगतका वर्षहरूमा यस साइटसँग जोडिएका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन । 

स्थानीयहरूले फोहोर विसर्जनले हुने वातावरणीय प्रदुषण, पानीका मुहानहरूको असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् । २०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू नै बाटोमै रोकिएका थिए । जसले उपत्यकामा फोहोर थुप्रिने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहारिएको छ । २०८० मा भएको एक अध्ययनले बन्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीको प्रदुषण बढेको देखाएको थियो । जसले स्थानीय किसानको कृषि उत्पादनमा असर पु¥याएको छ । स्थानीयहरूले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटकपटक विरोध प्रदर्शन गर्दै आएका थिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update