काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको निर्वाचन अग्रिम र आकस्मिक भएकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताए।
उनले संविधान जीवित राख्नका लागि पनि निर्वाचनमा सहभागी हुनुपर्ने जरुरी रहेको बताए । सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनका लागि शान्ति-सुरक्षाको पहिलो प्रत्याभुति गरिदिनुपर्ने उनकाे भनाइ छ । निर्वाचनको प्रक्रियामा सहजता र निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्नेकुरा सरकारले विश्वास दिलाउन सक्नुपर्ने जिकिर गरे। राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेको मिति (फागुन २१) मा गराउन निर्वाचन आयोग लागिपरेको बताए ।
उनले भने, ‘यो अग्रिम र आकस्मिक निर्वाचन हो । अहिले निर्वाचनमा नजाने हो भने विकल्प के त रु हाम्रो संविधान जीवित छ, संविधानको रक्षा गरेका राखेका छौँ । निर्वाचनमा जाने बाहेक अरु बाटो हामीसँग छैन । निर्वाचनमा जाने प्रयोजनका लागि सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनका लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभुति गर्नुपर्छ । श्रोत र साधनको सुनिश्चितता गर्नुपर्छ । निर्वाचनको प्रक्रियामा सहजता छ र निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्नेकुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ । सम्मानित राष्ट्रपतिबाट निर्वाचनको जुन मिति घोषणा भएको छ, त्यसअनुसार नै निर्वाचन आयोग निर्वाचन आयोग समर्पित छ । त्यसमै हामी लागिपरेका छौँ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा जाने सबै राजनीतिक दलहरुको तयारी रहेको बताए । उनले निर्वाचनका लागि शान्ति सुरक्षा र निर्वाचनमय वातावरण तयार पार्नुपर्ने राजनीतिक दलहरुको माग रहेको बताए।
