काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा जान डराइरहेका छन् । उनी नेतृत्वको सरकार गत भदौको जेनजी आन्दोलनले २ दिनमै ढालिदिएपछि मुलुकलाई पुनः लोकतान्त्रिक बाटोमा ल्याउन भन्दै अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको मिति तय गरिएको थियो । तर ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सरकार नै मानेका छैनन् र उनको नेतृत्वमा निष्पक्ष चुनाव हुनेमा शंका गरेका छन् ।
मूलतः पछिल्लो समय एमाले–काँग्रेसजस्ता ठूला दल र तिनका नेताप्रति देशभरि नै युवा पुस्तामा निराशा र आक्रोश देखिन्छ । आफू प्रतिपक्षमा हुँदा मिसन ०८४ अभियान चलाएका र सत्तामा हुँदा पनि ०८४ सम्मै काँग्रेससँगको गठबन्धन अगाडि बढ्ने त्यसपछि मात्र आम निर्वाचन हुने र एमाले पहिलो दल बन्ने सपना बाँड्दै आएका ओली एकाएक जेनजी विद्रोहको धक्काले ढलेपछि सहन सकिरहेका छैनन् । अप्रत्याशित रुपमा मुलुक चुनावमा जाने अवस्था आएपछि ओली र उनको पार्टीले सोचेजस्तो सिट नजित्ने ठानेर हो या वर्तमान सरकारप्रतिको अविश्वासका कारण हो, चुनाव हुन नसक्ने बताइरहेछ । विगतमा आफूले २ पटक बलजफ्ती संसद विघटन गराएका ओली नै अहिले संसद पुनस्थापनाको माग अगाडि सारेर आन्दोलनको चेतावनी दिइरहेका छन् ।
बिहीबार बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै एमालेले देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको बताए । संविधान विपरित प्रतिनिधि सभा विघटन गरिएकाले त्यसको पुनःस्थापनाका लागि आफूहरू आन्दोलनमा जानुपरेको उनको भनाइ छ । सरकारले आफूहरुको सुरक्षा सुविधा खोसेकोमा गुनासो गर्दैै आएका ओली मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभुति गराउन पनि आफ्नो पार्टी युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णयमा पुगेको दाबी गर्छन् ।
अध्यक्ष ओली मात्र हैन, एमालेका सबै नेताले जेनजी विद्रोहलाई स्वीकार्न सकेको देखिन्न र निर्वाचनप्रति विश्वस्त हुन सकेको पनि देखिन्न । बुधबार एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरे । भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलन तथा परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ ।
एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दुरुपयोग गरी लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार भएको टिप्पणी गर्दै आएका छन् । उनका अनुसार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन सुरु भएको आन्दोलनलाई दुरुपयोग गरी सरकार अपदस्थ गर्ने र देशभर आक्रमण गर्ने केही शक्ति समूहको योजना पुष्टि भएको छ । पौडेलले जेनजी आन्दोलन सफल भएपछि पनि नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिनु योजनाबद्ध षड्यन्त्रको प्रमाण भएको जिकिर गरे । साथै, उनले वर्तमान अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको र राजनीतिक दल तथा नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाए ।
निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसक्दा पनि एमाले नेताहरु चुनाव हुन नसक्ने भन्दै भ्रम छरिरहेका छन् । अध्यक्ष ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको र दुनियाँमा भ्रम छरिरहेको आरोप समेत लगाएका छन् । सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउन खोजेको आलोचनापिछ सरकारले प्रमुख दलहरुसँग चरणबद्ध छलफल समेत गर्दै आएको छ ।
