News 24 Television
जेनजी आन्दोलनपछि पनि सत्ता चलखेल उस्तै, मधेसमा भागबण्डा नमिल्दा अस्थिरता

काठमाडौँ । गत भदौ २३–२४ को जेनजी आन्दोलनको मुख्य माग थियो– भ्रष्टाचार न्यूनीकरण, सुशासन र राजनीतिक बेथितिको अन्त्य । तर उक्त आन्दोलनको आक्रोशमय आँधीबेहरीपछि पनि पुराना राजनीतिक दलहरु सच्चिने सुरसार देखिएको छैन । मूलतः राजनीतिक दलहरुकै सत्तालिप्सा, अकर्मण्यता, भागभण्डाको राजनीति र अस्थिर चरित्रविरुद्ध जेनजी युवाहरु सडकमा आएका थिए । उक्त आन्दोलनपछि दलहरुभित्र केही सुधार हुन्छ र राजनीतिक संस्कारमा परिवर्तन देखिन्छ कि भन्ने आशा पालेका आम जनता फेरि निराश नै हुने संकेत देखिँदैछ ।
 
यसको उदाहरण बनेको छ, मधेस प्रदेश सरकार । जेनजी आन्दोलनलगत्तै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई दलहरुले घेराबन्दी र असहयोग गरे । जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सिंहलाई एमाले, काँग्रेस र उनकै दलले समेत अविश्वास गरेपछि राजीनामा दिएका थिए । त्यसपछि काँग्रेसका उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत असोज २९ गते ५ दलका करिब ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलले शनिबार (कार्तिक २२ गते) विश्वासको मत लिने तयारी गरेका थिए । तर माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी)का सांसदले असहयोग गरेपछि सोनलले विश्वासको मत नै नलिईकन राजीनामा दिए । काँग्रेस–एमालेलाई बाहिरै राखेर सरकार बनाएका सोनलले प्रचण्डको पछिल्लो निर्णयका कारण सरकार चलाउन सकेनन्, यसले मधेसको सत्ता अस्थिरतामा थप रुमल्लिने देखिएको छ । 

माओवादी संसदीय दलका नेता भरत साहको नैतिक चरित्रमाथि प्रश्न उठेपछि गत जेठमा राजीनामा दिएका थिए । तर अहिले प्रचण्डले उनै साहलाई पुनः संसदीय दलको नेता बनाउने निर्णय गरेपछि माओवादी सांसदहरु विभाजित भएर सोनललाई विश्वासको मत नदिने निर्णयमा उभिए । शनिबार मधेस प्रदेस सभाको बैठक चलिरहेकै समयमा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेर बैठकमा उपस्थित भएका थिए । अन्सारीले प्रदेश सभामा रहेका कुनै पनि सांसदहरुसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै उनले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने बताएका थिए । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरु जनताको मर्मअनुसार काम गर्न नसकेकाले कसैले पनि निकास दिन नसक्ने उनको भनाइ थियो । 

मुख्यमन्त्रीमा नियुक्त हुँदा सोनललाई जसपा नेपालका १९ जना, जनमतका १३, माओवादी केन्द्रका ९,  लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो । तर जनमत समेत विभाजित भएर जनस्वराज पार्टी गठन भएको र पूर्व मुख्यमन्त्री सतिश सिंहको समूह जनस्वराजमा प्रवेश गरेकाले उनीहरुले समेत सोनललाई विश्वासको मत दिएनन् । यसरी राजनीतिक खिचातानी, टुटफुट र अस्थिर चरित्रको सिकार हुँदा मुख्यमन्त्री सोनलले समर्थन गरेकै सांसदहरुबाट विश्वासको मतसम्म आइपुग्दा साथ गुमाएको देखिन्छ । यो नेपाली राजनीतिको पुरानै रोग हो । सोनलको राजीनामा शनिबारै प्रदेश प्रमुख सुमित्रा सुवेदीले स्वीकृत गरिसकेकाले अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update