काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य गरेर जनप्रिय बनेका कुलमान घिसिङ नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन् । जेन–जी आन्दोलनको बालमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा कार्यभार सम्हालेका घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नयाँ दल गठनको प्रक्रिया अघि बढाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल र सुदन गुरुङ नेतृत्वको जेन–जी समूहलगायतलाई समेट्दै घिसिङले नयाँ दल गठन गर्न लागेको बताइएको छ । त्यस्तै चर्तित अधिवक्ता डा. युवराज संग्रौला, दलित अभियन्ता खगेन्द्र सुनार र पत्रकार ऋषि धमलासमेत यस दलमा सहभागी हुने चर्चा छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समेतले कुलमानको पार्टीलाई समर्थन गर्ने बताइएको छ ।
केही दिनअघि बालुवाटारमा जेन–जी अगुवाहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई “चुनाव लड्ने हो?” भनेर सोधेकी थिइन् । उनले स्पष्ट जवाफ नदिए पनि निर्वाचनमा जाने संकेत दिएका थिए । यसअघि घिसिङको नेतृत्वमा रास्वपा पुनर्गठन गर्ने प्रयाससमेत भएको थियो । घिसिङलाई केही समयअघि रास्वपामा प्रवेश गर्ने प्रस्ताव पनि आएको थियो । उनले रवि लामिछाने ‘अभिभावक’को भूमिकामा बस्ने हो भने आफू नेतृत्व लिन तयार रहेको सन्देश पठाएका थिए ।
लामिछानेले सभापति पद त्यागे बालेन शाहले पनि समर्थन गर्ने संकेत गरेका थिए । रास्वपाका केही नेताहरूले नक्खु कारागारमा रहेका सभापति रविसँग छलफल समेत गरेका थिए । तर, रविले नेतृत्व छोड्न आफू जेलमुक्त हुनुपर्ने शर्त राखेको बताइन्छ । कुलमान र बालेनले चुनावमा बहुमत ल्याउने योजनाले मात्र सभापति पद मागेको दाबी गरेका थिए । तर, रास्वपाले पार्टी नै कब्जा गर्न खोजेको आरोप लगायो । त्यसबेला उसभापति डा. स्वर्णिम वाग्लेले सभापति नै आयत गर्न नसकिने प्रतिक्रिया दिएका थिए ।
रास्वपासँग कुरा नमिलेपछि घिसिङले नयाँ दल बनाउने तयारी थालेका हुन् । चाँडै दलको नाम टुंग्याएर निर्वाचन आयोगमा दर्ता आवेदन दिने तयारी छ । दलको उज्यालो नेपाल पार्टी र चुनाव चिन्ह ‘बिजुलीको चिम’ राख्ने तयारी गरिएको थियो । तर, उज्यालो नेपाल पार्टी नाम राख्दा एक जनाको पार्टीजस्तो देखिने भन्दै सुमना श्रेष्ठसहित केही नेताहरूले फरक नाममा पार्टी गठनको सुझाएका थिए । त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्नेबारे लगभग सहमति भएको छ । तर, घिसिङ स्वयं दलको अध्यक्ष बन्ने कि सदस्यकै रूपमा रहने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।
नयाँ दल गठनका सन्दर्भमा उनी विवेकशील साझा पार्टीका पूर्व नेताहरू र रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्टसँग पनि संवादमा छन् । तर पार्टीको नाम र चुनाव चिह्नमा सहमति नजुटेकाले संयुक्त प्रयास सम्भव नभएको बताइएको छ । कुमान पक्षसँग कुरा नमिलेपछि जेन–जी फ्रन्टका अगुवाहरूले विवेकशील साझा पृष्ठभूमिका नेताहरूसँग अलग दल गठनको तयारी गरिरहेका छन् । रक्षा बमको नेतृत्वमा रहेको नेपाल जेन–जी फ्रन्टभित्र पनि दल गठनबारे छलफल पनि तीव्र बनेको छ । फ्रन्टको संघीय संयोजन समितिले रितु खड्का, अमृता बन र संविधान प्रसाईलाई विभिन्न समितिको जिम्मेवारी दिँदै संगठन विस्तार अघि बढाएको छ । सातै प्रदेशका लागि सम्पर्क व्यक्ति पनि तोकिएका छन् ।
रास्वपा, बालेन, कुलमान, हर्क साम्पाङ र जेन्जीहरुको सहकार्यको आवश्यकता सबैले महसुस गरे पनि नेतृत्व विवादले नयाँ राजनीतिक प्रयासलाई जटिल बनाइरहेको छ । यदि सहमति जुटेन भने यी नेताहरू फरक–फरक दल बनाएर चुनावमा जाने सम्भावना छ, जसले मत विभाजन भई पुरानै दलहरूलाई फाइदा पु¥याउने देखिन्छ । तर सहमति जुटेमा यो गठबन्धन पुराना दलहरूको सशक्त विकल्प बन्न सक्ने देखिन्छ ।
