काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको रौनक बढेको छ । आठ वटै फ्रेन्जाइज टोलीले अन्तिम टोलीको टुंगो लगाउन थालेका छन् ।
विदेशी खेलाडीदेखि ट्यालेण्ट हण्टसम्म पुगेर खेलाडी छनोट गरिरहेका छन् । ती मध्येको एक टोली काठमाडौँ गुर्खाजले भने अन्तिम टोलीको टुंगो लगाइसकेको छ । यस प्रतियोगितामा खेल्ने टोलीहरुले अभ्यास खेल समेत खेलिरहका छन् ।
कस्तो छ काठमाडौँ गुर्खाजको टोली ?
काठमाडौँ गोर्खाजले ६ खेलाडी रिटेनमा राखेको थियो । कप्तान करण केसी सहित भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ रिटेन खेलाडी हुन् । अक्सनबाट ५ खेलाडी अनुबन्ध गरेको काठमाडौँ बलियो देखिएको छ ।
अक्सन मार्फत अनुबन्ध हुने खेलाडीमा आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा, सन्तोष यादव रहेका छन् । यस्तै, काठमाडौँले ट्यालेन्ट हन्टबाट नटराजन शाहलाई टोलीमा समेटेको थियो । घरेलु क्रिकेटमा राम्रो अनुभव बटुलेका र अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका खेलीको मिश्रणले टोली राम्रो बनेको कप्तान करण केसी बताउछन् ।
काठमाडौँले विदेशी कोटाबाट ६ जना ठुला नामा समेटको छ । विदेशी खेलाडीमा जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चाल्र्सवर्थ, जोन सिम्पसन, रिकार्डी भास्कोनेसेलोस र सन्नी पटेल रहेका छन् । विश्वस्तरीय लिगमा अनुभव बटुलेका विदेशी खेलाडीमा बढि चासो दिएको काठमाडौँ एनपीएल सिजन–२ को च्याम्पियन बन्ने प्रमुख हतियार मानेको छ ।
अघिल्लो सिजन टप अर्डरको ब्याटिङमा चुकेको काठमाडौँले यसपटक सजग देखिएको छ । अर्काेतर्फ अनुभवी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वमुख्यप्रशिक्षक समेत बनेका मोन्टी देशाई मुख्यप्रशिक्षक हुँदा काठमाडौँ च्याम्पियन बन्न दौडमा छ । मोन्टीको साथमा सहायक प्रशिक्षक बसन्त शाही हुनेछन् ।
नेपाली खेलाडी, मैदान र समर्थकमाझ परिचित मोन्टी दोस्रो संस्करणको एनपीएल खेल्न काठमाडौँ तयार रहेको बताउँछन् ।
मंगलबार मुलपानी मैदानमा भएको अभ्यास खेलमा बलियो टोली विराटनगर किंग्स माथि १०१ सानदार जित निकालेको काठमाडौँ आत्मविश्वासी देखिएको छ ।
निर्धारित २० ओभरमा १४४ रनको लक्ष पन्छाएको विराटनगर १४ ओभरमा ४३ रन बनाएर अलआउट हुन पुग्यो । यद्यपी विराटनगरको टोलीमा कप्तान सन्दीप लामिछाने सहितका केहि महत्वपुर्ण खेलाडी सहभागि थिएनन् ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा पाँचौ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको काठमाडौँ गोर्खाज यस पटक उचाधीमा नजर राखेको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल मंसिर १ गतेबाट सुरु भएर २७ गते सकिने छ ।
कुन–कुन टोलीले टुङ्गो लगाए कप्तान र मुख्य प्रशिक्षक ?
आठवटै फ्रेन्जाइज टोलीले अन्तिम टोलीको टंगो लगाउने तयारीमा छन् । पहिलो सिजनको एनपीएल विजेता टोली जनकपुर बोल्ट्सको मुख्यप्रशिक्षकमा शिवनारायण चन्द्रपाल रहँदा कप्तानमा आसिफ शेख रहेका छन् । साविक उपविजेता टोली सुदुरपश्चिम रोयल्सको मुख्यप्रशिक्षकमा जगत टमटा रहँदा कप्तानमा दिपेन्द्रसिंह एैरी रहेका छन् ।
कर्णाली याक्सको मुख्यप्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहँदा कप्तानमा सोमपाल कामी रहेका छन् । काठमाडौँ गोर्खाजको मुख्यप्रशिक्षकमा मोन्टी देशाई रहँदा कप्तानमा करण केसी रहेका छन् ।
विराटनगर किंग्सको मुख्यप्रशिक्षकमा पुवुदु दाशानायके रहँदा कप्तानमा सन्दीप लामिछाने रहेका छन् । लुम्बिनी लायन्सको मुख्यप्रशिक्षकमा टिनु योहानन रहँदा कप्तानमा रोहित कुमार पौडेल रहेका छन् । पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहँदा मुख्यप्रशिक्षकको भने टुंगो लागिसकेको अवस्था छैन् । अघिल्लो सिजन पोखराको मुख्यप्रशिक्षकमा राजिव कुमार रहेका थिए ।
