काठमाडौँ । मुलुकमा पछिल्लो जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमले गर्दा नेपालको वामपन्थी राजनीतिमा केही महत्त्वपूर्ण हेरफेरहरू भएका छन् । वामपन्थी ध्रुवीकरण र एकीकरणका दुई प्रमुख नायक केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) पछिल्लो समय पुनः नेता तान्ने होडमा लागेका छन् । विगतको सबैभन्दा ठूलो एकीकृत पार्टी नेकपालाई निरन्तरता दिन नसकेका र टुटफुटका कारक बनेका दुवै नेता पछिल्लो समय तिनै टुटेका र छरिएका वामपन्थी समूहलाई आ–आफ्नो छातामुनि तान्ने प्रयासमा छन् । प्रचण्डले आफ्नो नेतृत्वमा साना ११ वटा वामपन्थी धारका पार्टी तथा समूहलाई एकीकृत गरेका छन् ।
प्रचण्डले विभिन्न साना वामपन्थी समूहहरू, पूर्व माओवादी घटकहरू, र अन्य कम्युनिस्ट पार्टीहरू सँग एकता, कार्यगत एकता वा सहकार्य गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका छन् । जसलाई ठूलो वामपन्थी केन्द्र बनाउने उनको प्रयास छ । बुधबार मात्रै प्रचण्ड नेतृत्वको नेकपा र एमालेबाट निष्काशित भीम रावलको मातृभूमि जागरण अभियान (समूह)बीच ७ बुँदे सहमतिसहित एकता भएको छ । नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलबीच उक्त सम्झौता भयो । राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनुपर्ने चुनौति रहेको र देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रुपान्तरणको अभिभारा आफूहरुसँग रहेको सम्झौतापत्रमा उल्लेख छ । समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने लगायत सहमति भएको छ ।
यसअघि कार्तिक १९ गते प्रचण्डको संयोजकत्वमा एकीकृत समाजवादीसहित १० दलहरुबीच एकता भयो । सो क्रममा प्रचण्डले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता हुनु ऐतिहासिक र असाधारण रहेको बताएका थिए । यो एकतालाई आत्मसमीक्षा र सुधारको अवसरको रूपमा लिन उनले सबैमा आग्रह गरे ।
यसका अलावा नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’ लगायतका वामपन्थी समूहहरूसँग पनि एकताका लागि वार्ता प्रयास भएको र उनीहरुलाई पनि आफ्नो छातामुनि ल्याउने प्रयास जारी रहेको प्रचण्डले बताएका थिए । उनको उद्देश्य साना वामपन्थी समूहहरूलाई आफ्नो छातामुनि ल्याएर निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने देखिन्छ । प्रचण्डको छातामुनि पुगेका भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउन जरुरी रहेको बताए ।
यद्यपि माओवादी केन्द्रकै जनार्दन शर्माको समूह प्रचण्डको साथ छाडेर अलग्गै अभियानमा जुटेको छ । उता एकीकृत समाजवादीमा तीन धार देखिए, जसमध्ये माधव, झलनाथ र वामदेवजस्ता ठूला नेताहरु र उनको समूह प्रचण्डसँगको एकतामा गयो भने घनश्याम भुसाल समूहले पार्टी पुनर्गठन गरी एकीकृत समाजवादीमै बस्यो । तेस्रो समूह– किसान श्रेष्ठ र रामकुमारी झाँक्रीलगायत नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले घर फर्क अभियान नै चलाएर वामपन्थी धारका समूहलाई आफ्नो छातामुनि ल्याउने प्रयास जारी राखेका छन् । माओवादीबाट अलग्गिएको जनार्दन समूहलाई पनि एमालेमा समाहित गराउने प्रयास भएको चर्चा चले पनि यसको पुष्टि हुन सकेको छैन ।
घर फर्क अभियान घोषणामा उल्लेख्य नेताहरु फर्काउन नसके पनि एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी महासागरजस्तो संगठन भएको दाबी गरे । एमालेमा सबै अटाउने फराकिलो ठाउँ रहेको बताउँदै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर समेत गरे । एमालेका सबै युवा र नेताहरू सही विचार, संकल्पका साथ जनहितमा काम गर्ने संगठनका सदस्य भएको दाबी गरे । उनले जेन–जी आन्दोलनभन्दा अगाडि केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिँदा पनि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको पनि बताए ।
जेन–जी आन्दोलनले भ्रष्टाचार, सुशासन र राजनीतिको शुद्धीकरण को मुद्दालाई सशक्त रूपमा उठायो । परिणामः यसले सबै स्थापित दलका नेताहरूमाथि नैतिक दबाब बढायो । यसैको प्रभावस्वरूप, नेताहरूले आफ्नो कमजोरी सच्याउने र ठूला राजनीतिक एकता वा ध्रुवीकरण देखाएर जनताको ध्यान तान्ने प्रयास गरेको देखिन्छ ।
