News 24 Television
पोखरामा शुरु भयो साहसीक खेलको रौनक, सौन्दर्यसँगै चुनौतीपूर्ण ट्रयाक

कास्की । पोखरामा अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिताको तेस्रो संस्करण शुरु भएको छ । साहसिक खेलका रूपमा लिइने यो प्रतियोगितामा ८ देशका ४५ खेलाडी सहभागी छन् । प्रतियोगिताले खेलकुदमा मात्र नभई पर्यटन प्रबद्र्धनमा समेत टेवा पुराएको छ । 

पोखरामा इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तेस्रो संस्करण शुरु भएको छ । साहसिक खेलका रूपमा लिइने यो प्रतियोगिता पोखरा १३ को आर्बा–बिजय डाँडामा ३ दिन सम्म सञ्चालन हुनेछ । यसै त पोखरालाई खेलकुदको शहर भन्ने गरिन्छ । 

त्यसमाथि विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गर्छन् । ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएको छ । पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भनाइ छ । 

प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन् । १३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेपनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्मा बताउँछन् ।

प्रतियोगितामा जुनियर, महिला खुला, २९ वर्ष माथिकालाई इलिट, मास्टर्स ‘क’, मास्टर्स ‘ख’ र ५० वर्ष माथिका भेट्रान गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ । 

यसरी वर्षै पिच्छे विभिन्न देशका खेलाडी सहभागी हुने प्रतियोगिताका कारण त्यहाँका स्थानीयहरू समेत निकै हर्षित छन् । पोखराको आर्बामा हुने यो प्रतियोगिता अहिले अन्तर्राष्ट्रिय स्तरमै एउटा ब्रान्ड बनिसकेको दाबी त्यहाँको स्थानीय निकायको छ ।

पोखराको सौन्दर्यसँगै साहसिक खेलको आकर्षणसमेत फैलाउँदै गएको इन्डुरो माउन्टेन बाइक प्रतियोगिता अब केवल खेलको महोत्सव मात्र नभई, पोखराको पहिचानको हिस्सा बन्दै गएको छ । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरालाई विश्वमा खेलकुद र पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update