काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) शुरु हुन तीन दिन मात्रै बाँकी छ । प्रतियोगिता नजिकिएसँगै आठवटै फ्रेन्जाइज टोलीले तयारी तीव्र पारेका छन् । ती मध्येको एक साविक विजेता जनकपुर बोल्ट्सले उपाधि रक्षा गर्नेगरि तयारी गरिरहेको छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर विश्वस्टार इमराज ताहिर अनुबन्ध गरेर चर्चामा छ । तुलनात्मक रुपमा बलियो देखिएको जनकपुर उपाधि रक्षा गर्न तम्तयार देखिन्छ ।
पहिलो संस्करणको च्याम्पियन टोली जनकपुर बोल्ट्स दोस्रो संस्करणको एनपीएल खेल्न तयार छ । देशीविदेशी नाम चलेका खेलाडी अनुबन्धले जनकपुर तुलनात्मक रुपमा बलियो देखिएको टोलीको स्वाइड हेर्ने हो भने बलिङ र ब्याटिङमा अब्बल छ ।
त्यहि माथि विश्वचर्चित क्रिर्केटर इमरान ताहिरको अनुबन्धले जनकपुर चर्चाको शिखरमा पुगेको छ । उपाधि रक्षा गर्नेगरी तयारी गरिरहेको च्याम्पियन टोली पुनः च्याम्पियन बन्न भरपुर तयारीमा छ ।
कस्तो छ जनकपुरको टोली ?
–जनकपुरले ७ खेलाडी रिटेन गरेको थियो ।
रिटेन हुने खेलाडीमाः
–आसिफ शेख, अनिल शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंन्साकार र तुलबहादुर थापा मगर
अक्सनबाट अनुबन्ध हुने खेलाडी
–मयान यादव, आदित्य महता, विकाश आग्री र सचिन भट्ट
विदेशी खेलाडीमा
–इमरान ताहिर, लाहिरु मिलन्था, जान निकोलस लफ्टि इटन, वेन पानेल, लाहिरु समरकुन र सञ्जय कृष्णमूर्ति
जनकपुरको मुख्यप्रशिक्षकको जिम्मेवारीमा वेष्टइन्डिजका शिवनाराइन चन्द्रपाल रहेका छन् । पुवुदु दाशानायके विराटनगर किंग्स पुग्दा च्याम्पियन टोलीको लिगेसी कायम राख्न चन्द्रपाल त्यो जिम्मेवारी लिनु पुगेका हुन् ।
नेपाली क्रिकेटको विकास र विस्तारलाई नजिकबाट निहालेको बताउने चन्द्रपाल तयारी राम्रो भइरहेको र उपाधी रक्षा हुनेमा आशावादी रहेको बताउँछन् ।
अनुभवी विदेशी खेलाडी
जनकपुरले अनुबन्ध गरेका विदेशी खेलाडी विश्व क्रिकेटमा स्थापित नाम छन् । अर्थात, विश्व क्रिकेटको अनुभव बटुलेका अनुहार छन् ।
दक्षिण आफ्रिकी लेजेण्ड इमरान ताहिर माथि सबैको नजर हुनेछ । विश्वभरीका लिगको अनुभव बटुलेका ताहिर जनकपुरका प्रमुख बलिङ हतियार हुन् । टियु मैदानमा ताहिरको गुगली बलिङ हेर्न नेपाली समर्थक आतुर छन् ।
पहिलो संस्करणको एनपीएलमा सर्वाधिक २९३ रन प्रहार गरेका लाहिरु मिलन्था अर्का महत्वपुर्ण हतियार हुन् । ३३ बलमा शतक प्रहार गर्दै टि–२० अन्तर्राष्ट्रियको सर्वाधिक छिटो शतक प्रहार गर्ने तेस्रो नम्बरमा रहेका नामिवियाका जान निकोलस लफ्टी इटन नायकी भुमिकामा हुँदा वेन पानेल, लाहिरु समरकुन र सञ्जय कृष्णमूर्तिको भुमिका उत्तिकै महत्वुर्ण हुनेछ ।
अनुभवी र भरपर्दा घरेलु खेलाडी
अक्सन मार्फत चार जना खेलाडी अनुबन्ध गरेको जनकपुर च्याम्पियन खेलाडी माथि पुर्ण विश्वस्त छ । टप अर्डरका ब्याट्सम्यान अनिल र आसिफ उत्कृष्ट लयमा देखिन्छन् ।
मध्यक्रममा शुभ कंन्साकारले साथ दिँदा बलिङमा ललित राजवंशी र किशोर महतोको जोडी दमदार देखिएको छ । अघिल्लो संस्करणमा ललितले १७ विकेट लिँदै सर्वाधिक विकेटको दोस्रो स्थान कब्जा गर्दा किशोरले १४ विकेट सहित चौथो कब्जा गरे ।
ऐतिहासिक पहिलो सिजनको च्याम्पियन जनकपुर विना प्रेसर मैदानमा उत्रिदा उत्कृष्ट नजिता निकाल्न सक्छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुरले लिग चरणका सात खेलमा पाँच खेलमा जित र दुई खेलमा पराजय भोगेको थियो ।
क्वालिफायर–१ मा सुदुरपश्चिम रोयल्ससंग ८ विकेटले पराजित भएको जनकपुर क्वालिफायर–२ मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।
फाइनलमा अघिल्ला दुई खेलमा हारको बदला लिँदै सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्दा ऐतिहासिक उपाधी हात पारेको थियो । दोस्रो संस्करणको एनपीएलमा जनकपुरले उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसंग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।
