काठमाडौं । देशविदेशका नेपाली क्रिकेटप्रेमी यतिबेला नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकमा रमेका छन् । क्यान स्वयंले आयोजना गरेको दोस्रो संस्करण शुरू हुनै लागेका बेला यसले उत्पन्न गरेको उत्साह, लगानी र आर्थिक गतिविधिले यस पटकको एनपीएल ‘क्रिकेट महोत्सव’ मात्र नभई आर्थिक सुस्ती चिरेर अघि बढ्ने ‘माइक्रो इकोनोमिक स्टिमुलस’ का रूपमा पनि हेरिएको छ ।
एकातिर, नेपालले टी–२० विश्वकपमा स्थान बनाएको खबरसँगै नेपाली क्रिकेटप्रेमीको उत्साह झनै बढेको छ, अर्कातिर, त्रिवि रंगशालाको पुनर्निर्माणपछि प्राप्त नयाँ रूपले झन् खुशी छन्, नेपाली क्रिकेट प्रेमी । त्यसमाथि अहिले रौनक छाएको छ, नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ।
यि सबै पक्षहरुले यसपटकको एनपीएललाई फरक स्तरमा पु¥याउने देखिएको छ । आगामी सोमबार काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको भव्य शुभारम्भ हुँदैछ ।
दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच उद्घाटन खेल हुनेछ । दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन् ।
रात्रि खेल र प्रिमियम इन्फ्रास्ट्रक्चर
यस वर्षको एनपीएल विशेष बन्नुको अर्को प्रमुख कारण भनेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको पूर्णरूपमा फेरिएको स्वरूप हो । करिब ४५ देखि ५५ मिटर अग्ला आधुनिक फ्लडलाइट जडान भएसँगै यस वर्ष रात्रि खेल आयोजना हुने भएको छ ।
१० हजार दर्शक अट्ने व्यवस्थित प्याराफिट, आकर्षक रङ संयोजनका कुर्सीहरूले दर्शक अनुभूति नै बदलिदिएका छन् । दुई हजार दर्शक अट्ने भीआईपी प्याराफिट पनि निर्माण गरिएको छ ।
पहिले धुलोमै बसेर, छाता ओढेर खेल हेर्न बाध्य भएका दर्शकहरू अब टिकट काटेर आकर्षक कुर्सीमा बसेर फ्लडलाइट मुनी खेल हेर्ने स्वाद चाख्ने भएका छन् ।
त्रिवि क्रिकेट रङ्गशाला अब केवल खेल मैदान मात्र नभई नेपाली राष्ट्रिय पहिचान, सामूहिक आकांक्षा र गौरवको प्रतिक बनेको क्यानको दाबी छ । दशकौँदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान खोज्दै आएको नेपाल आज आफ्नै आधुनिक रंगशालामा विश्वस्तरको खेल प्रस्तुत गर्न उभिएको छ ।
यस वर्ष टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ । स्पोन्सरसम्पर्क तथा वाणिज्यिक मोडेलमा रहेको आकर्षक सहभागिताले स्पोन्सरसिपबाट १५ करोड ४० लाख, टोलीका मालिकबाट ९ करोड र डिजिटल ओटीटी प्लेटफर्ममार्फत प्रसारण अधिकार बिक्रीबाट ५ करोड ३० लाख रुपैयाँ उठेको क्यानले जनाएको छ ।
पहिलो संस्करणकै सफलता, सशक्त टिम संयोजन, र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताले एनपीएललाई यसपटक अझ प्रभावशाली बनाएको छ ।
बिराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा
सुस्त भैरहेको अर्थतन्त्रमा गतिशीलता भर्न एनपीएलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । खेल पर्यटन, विज्ञापन बजार, टिकट बिक्री, होटल तथा यातायात व्यवसाय, डिजिटल मार्केटिङ र प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सिर्जना हुने रोजगारीहरूले यसलाई छोटो तर प्रभावकारी आर्थिक टॉनिकको रूपमा प्रस्तुत गरेका छन् ।
क्यानका पदाधिकारीका अनुसार पहिलो संस्करणकै प्रभावले निजी क्षेत्रको विश्वास बढेको छ । ठूला व्यवसायिक घरानाको लगानी वृद्धिले खेलकुद उद्योगलाई उदाउँदो बजारको रूपमा स्थापित गर्दै लगेको देखिन्छ ।
पुरस्कार राशी स्थिर
एनपीएलको यस वर्ष पुरस्कार राशीमा भने परिवर्तन गरिएको छैन । व्यक्तिगत श्रेणीका पुरस्कारबारे क्यानले पछि जानकारी गराउने बताएको छ ।
– विजेताः १ करोड १० लाख
– उपविजेताः ५१ लाख
– तेस्रोः २५ लाख
– चौथोः १५ लाख
‘हिमालयको उत्सव’ नाम दिइएको दोस्रो संस्करणको एनपीएल मंसिर १ देखि सुरु भई २७ मंसिरसम्म कीर्तिपुरमै चल्नेछ । नयाँ संरचना, बढ्दो लगानी, विश्वस्तरका खेलाडी, दर्शकको उक्लिएको उत्साह र नेपाली क्रिकेटको निरन्तर उचाइले गर्दा यसपटकको एनपीएललाई खेल मात्र नभई नेपालभित्रै सञ्चालित सबैभन्दा ठूलो खेलकुद र आर्थिक उत्सवका रुपमा हेरिएको छ ।
