काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् ।
आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी इन्कम जेनेरेशनमा टेवा पुर्याउने भन्ने रहेको बताए । जेन–जी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभएर काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ ।
महर्जनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्याउने ? भन्ने नै हाम्रो काम हो । आजको विषयवस्तु नगरवासीको सुरक्षामा कसरी बढी केन्द्रित हुने भन्ने हो । अस्ति जेन–जी आन्दोलन भयो । त्यसमा हाम्रो नगरप्रहरीसँग रेगुलर कन्ट्याक्टमा बसेँ । कुनैपनि ठाउँमा आगजनी हुनासाथ जानुपर्छ जाने भनेँ । त्यो बेलामा ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ । हाम्रो दमकलमा फमको व्यवस्था छ । जानासाथ पानीले हान्ने होइन, फम हान्छ । हाम्रो दमकलबाट देखिने गरी आगो निभेको हुन्छ ।’
उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जना गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताउँदै उनले अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए ।। साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने उनले बताए ।
