काठमाडौँ । नेपालकै जेठो र प्रतिष्ठित शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा राजनीतिक प्रभावमा सक्रिय विद्यार्थी संगठनहरूको ‘गुण्डाराज’ फेरि चर्चामा आएको छ । त्रिवि परिसर तथा यसका आंगिक र सम्बद्ध क्याम्पसहरूमा राजनीतिक विद्यार्थी संगठनहरूको प्रभाव लामो समयदेखि विवादको विषय बनेको छ । तालाबन्दी, पदाधिकारी नियुक्तिमा हस्तक्षेप र शुल्क वृद्धिविरुद्ध विद्यार्थी संगठनहरूको आन्दोलनले शैक्षिक सत्र समेत प्रभावित हुने गरेको छ । पदाधिकारी नियुक्तिका विषयमा विभिन्न संघ–संगठनहरूले पटक–पटक तालाबन्दी गर्दा महिनौंसम्म शैक्षिक गतिविधि रोकिने गरेको छ ।
यस्ता घटनाहरू प्रायः विद्यार्थीको शैक्षिक हितभन्दा बढी राजनीतिक स्वार्थका लागि हुने गरेको पाइन्छ । तर यसपटक विद्यार्थी संगठनको माग फरक छ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि तोकिएको टिकट शुल्कमा विद्यार्थीलाई कम्तिमा ५० प्रतिशत छुट दिन विद्यार्थी संगठनहरूले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो । अखिल क्रान्तिकारीका उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी टोलीले नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई उक्त मागसहित ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा प्रिमियर लिग क्रिकेटको टिकट दर विद्यार्थी वर्गका लागि निकै महँगो रहेको र यसले खेलकुदमा विद्यार्थीहरूको पहुँचमा अवरोध ल्याउने भएकाले विद्यार्थी परिचयपत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै, क्रान्तिकारीले सरकारी विद्यालयका विद्यार्थीहरूका लागि विशेष निःशुल्क प्रवेश कोटा कायम गर्न र खेलकुदलाई व्यावसायिक भन्दा बढी जनमुखी र राष्ट्रिय गौरवको प्रतीक बनाउन पनि माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा अखिल (क्रान्तिकारी) का उपमहासचिव श्रेष्ठले क्रिकेट लगायतका खेलकुदहरू केवल पैसा हुनेहरूको लागि मनोरञ्जनको साधन नभई सबैको पहुँचमा हुनुपर्ने, विद्यार्थीहितमैत्री नीतिगत निर्णय लिनुपर्ने र खेलकुदलाई युवाको सहभागिता तथा राष्ट्रिय एकताको माध्यमका रूपमा अघि बढाउनुपर्ने कुरामा क्यानको ध्यानाकर्षण गराए । यता, नेपाली कांग्रेस नेविसंघका विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले एनपीएलको टिकटमा विद्यार्थीलाई ७५ प्रतिशत छुट दिनुपर्ने माग गरेका छन् ।
त्रिवि मैदानमा एनपीएल हुँदा विद्यार्थीको पढाइ प्रभावित हुने, विद्यार्थी असुरक्षित हुने र त्रास फैलिने जस्ता कुराहरू विद्यार्थी संगठनहरूले बताएका छन् । तर, यस्तै विद्यार्थी संगठनहरूले विश्वविद्यालय परिसरभित्र खुकुरी नचाउने, प्राध्यापक र उपप्राध्यापकहरुमाथि आक्रमण गर्ने र विश्वविद्यालय ताडेफोड गर्ने घटनाहरू पहिले पनि धेरै गरिसकेका छन् । तर, त्यही विद्यार्थी संगठनहरूले अहिले त्रिवि मैदानमा एनपीएल हुँदा विद्यार्थीलाई त्रास र असुरक्षा हुने बताइरहेका छन् ।
अर्कोतर्फ, विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी गर्दा पढाइ प्रभावित नहुने तर एनपीएलको कारण पढाइ प्रभावित हुने भनाइले पनि विरोध र प्रश्न उठाएको छ । यसले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनको भूमिका, राजनीतिक प्रभाव र विद्यार्थी हितबीचको जटिल सम्बन्धलाई उजागर गरेको छ । यसमा नीतिगत निर्णयले खेलकुद पहुँच र विद्यार्थी हित दुवै सन्तुलित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
