News 24 Television
जेनजीलाई मन्त्री पुनले भने- 'तिमीहरूका सबै माग पूरा गर्न सक्दिनँ, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर !'

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गरेका छन् । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन-पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न आग्रह गरे । आफैँ निर्वाचनमा भाग लिएर जितेर आउन र मागहरु पूरा गर्न उनले आग्रह गरे । मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गरे । केही मागहरु भने विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ । 

मन्त्री पुनले भने, ‘अब यो तिमीहरुको सबै माग पूरा गर्ने हो भने तिमीहरु आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरुको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब जेन जीका भाई बहिनीहरु काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरु ल्याउने र यस्ता किसिमका मागहरु पूरा गर्ने । केही मागहरु विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन ।’

जेन–जी २.० ले १६ वर्षको उमेरमा एस.ई.ई. पास गरी सिटिईभिटीमा पढेर देश-विदेशमा काम गरी जीविका चलाउन तथा देश विकासमा योगदान गर्न चाहने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका विभिन्न समस्याहरुको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको थियाे । विद्यार्थीका मागहरु समयमा पूरा नगरे त्यसपछिको अवस्थाको जिम्मेवारी सिटिइभिटीको हुने बताएको छ । यसै वर्ष सिटिईभिटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update