News 24 Television
काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयर (प्रमुख)हरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।

उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो ।

भेटका क्रममा स्थानीय सरकार प्रमुखहरुले आफूहरुले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराए । उनीहरुले आ–आफ्ना समस्या राख्दै यो सरकारले बोल्ड डिसिजन गर्न डराउन नहुने धारणा पनि राखे । फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि उनीहरुले आग्रह गरे ।

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै उक्त रकम राफसाफ गरिदिन अनुरोध गरे। त्यस्तै सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो ।

यस्तै जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि उनीहरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरे । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update