News 24 Television
ओलीको प्रश्न- सभा गर्न नदिने सरकारले निर्वाचन कसरी गर्छ ?

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन समेत गर्न नदिएको आरोप लगाएका छन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बारामा पार्टीको कार्यक्रम सरकारले गर्न नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे । बुधवार बाराको सिमरा एयरपोर्टमा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताबीच झडप हुँदा राष्ट्रिय युवा संघ नेपालको भेलामा जानबाट पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत रोकिएका थिए ।

ओलीले सोही कुरालाई लक्षित गर्दै सभा गर्न नदिने सरकारले कसरी चुनाव गर्छ ? भनी प्रश्न उठाए । उनले जेन–जीको नाममा बारामा पनि एमालेविरुद्ध ढुंगामुढा गर्न लगाइएको भन्दै सैह्य नहुने चेतावनी समेत दिए । 

उनले भने– ‘बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने । बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । नेताहरु जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमा नै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराई दिने ? अनि सरकार भन्छ चुनाव गर्ने रे । सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’ 

अध्यक्ष ओलीले विरोधीहरुले हमला गरिरहेको भन्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update