News 24 Television
हरेक नागरिकले निर्धक्क मतदान गर्नसक्ने वातावरण सिर्जना गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्ने बताएकी छन् । बुधवार सिंहदरबारमा राजनीतिक दलहरुसँग छलफल गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सुरक्षा नै सरकारको उच्च प्राथमिहकताको विषय भएको बताइन् ।

जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको उनले बताइन् । हिमाली जिल्लाको बन्दोबस्तीलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेको पनि उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता हो । जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गरिनेछ । जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचरको परिचालन बढाइएको छ । हामी हिमाली जिल्लाको बन्दोबस्तीलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेका छौँ । अराजकता नियन्त्रणमा पनि हाम्रो ध्यान पुगेको छ । तरल र अनिश्चयपूर्ण वातावरणको फाइदा उठाउन भड्काउयुक्त क्रियाकलापमा लागेका समूह वा भागेका कैदीबन्दीहरूबाट हुनसक्ने कुनैपनि उपद्रवलाई कानूनी व्यवस्थाको विषय मानी अतिरिक्त सुरक्षा शतर्कता अपनाइएको छ। राजनीतिक हिंसा र टकरावलाई नियन्त्रण गर्न हामी सबै पक्षसँग ट्रयाक(टु वार्ता र संवादको पहल पनि गरिरहेका छौँ ।’

वर्तमान सरकार लोकतान्त्रिक निकासको लागि बनेको एक पुल भएको उनकाे भनाइ छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update