News 24 Television
मधेसमा बढ्दो एमालेविरोधी भावना : एमालेको आरोप माओवादी र भारततर्फ

काठमाडौँ । बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको सिमरा जान लाग्दा एकाएक झडपको स्थिति देखापर्यो । एमालेको युवा संघले बुधबार बाराको परवानीपुरमा युवा जनजागरण अभियान अन्तर्गत मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको थियो । जसलाई सम्बोधन गर्नका लागि काठमाडौँबाट पोखरेल र बस्नेत लगायत नेताहरु हवाई मार्गबाट सिमरा विमानस्थलमा उत्रिने तय भएको थियो । तर एमालेका कारण उसै पनि मधेश प्रदेश सभा र सरकारमा विरोध तथा असन्तुष्टि चर्किएका बेला हुन लागेको एमालेको कार्यक्रमलाई स्थानीय युवाहरुले रुचाएनन् ।

अर्कोतर्फ जेनजी आन्दोलनलाई कम आँकेको एमाले नेताहरुले निरन्तर अन्तरिम सरकार विराधी र जेनजी विरोधी अभिव्यक्ति दिँदै आएका थिए । विशेषगरी महेश बस्नेत र एमाले अध्यक्ष केपी शर्मा ओलीका आक्रामक अभिव्यक्तिका कारण जेनजी पक्षधर युवाहरु थप आक्रोशित हुँदै आएका छन् । यसैको इफेक्ट देखियो, सिमरा विमानस्थलमा ।

बुधबार एमाले नेताहरुलाई सिमरा विमानस्थलमै घेराउ गर्न र कार्यक्रम सफल हुन नदिन केही जेनजी समूहका युवाहरुले विमानस्थल आसपास प्रदर्शन र नाराबाजी गरे । प्रतिकारमा उत्रिए– एमाले युवा संघका कार्यकर्ताहरु । यसै क्रममा युवा संघका कार्यकर्ताले जेनजी युवामाथि हातपात गरेपछि परिस्थिति भड्कियो । दुवै समूहबीच झडप हुनुका साथै विमानस्थल परिसरमा तोडफोड समेत हुन थालेपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश नै जारी गर्नुप¥यो । स्थिति थप भड्किन नदिन जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यू आदेश जारी गरेको हो । बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म लागू हुनेगरी गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइयो । 

मधेस प्रदेशमा पछिल्लो जेनजी आन्दोलनपछि एमालेविरोधी भावना प्रखर देखिएको छ । विशेषगरी प्रदेश सरकारमा देखिएको पछिल्लो गतिविधिका कारण एमाले एक्लिएको छ । एमालेबाटै प्रदेश प्रमुख रहेकी तत्कालीन प्रमुख सुमित्रा भडारीले ७ दलीय मागविपरीत ठूलो दलको नेताको हैसियतमा एमालेकै सरोज यादवलाई मुख्यमन्त्री बनाएर होटलमा शपथ ग्रहण गराएपछि प्रदेश अशान्त बन्न पुग्यो । विरोधमा उत्रिएका काँग्रेस लगायत मधेसी दलहरुले मुख्यमन्त्री कार्यालय र प्रदेश सभामा तोडफोड मात्रै गरेनन्, १० दिनसम्म निरन्तर धर्ना र प्रदर्शन जारी राखेका छन् । संघ सरकारले एमाले कोटाकी प्रदेश प्रमुख भण्डारीलाई हटाएर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरे पनि यो विषय सर्वोच्च अदालतमा विचारधीन रहेकाले अदालतको आदेशपछि मात्रै नयाँ कदम चालिने देखिन्छ । 

एमालेको आरोप माओवादी र भारततर्फ

आफूविरुद्ध घेराबन्दी र विरोध भएपछि मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले मधेसमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन् । गत शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गरे । मधेसमा दलहरु फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो । यादवले आन्दोलनकारीहरुले आफूलाई निशाना बनाएको दाबी गर्दै आफूमाथि सुरक्षा थ्रेट रहेको बताए । उनले आफू संवैधानिक ढंगले नै सरकारको नेतृत्वमा आएको बताउँदै र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न आन्दोलनरत राजनीतिक दलहरुलाई आग्रह गरे । तर भारतीय पक्षले दबाब दिएको कारण मधेसमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको उनको जिकिर छ ।

सर्वोच्च अदालतले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । मधेसका प्रदेश सभामुख रामचन्द्र मण्डलविरुद्ध ७ दलले महाभियोग प्रस्ताव समेत दर्ता गरेका छन् र उपसभामुख बबिता राउत इशरले सभा चलाइरहेकी छन् । यद्यपि बुधबार प्रदेश सभामा सत्तारुढ एमालेका सांसदहरु उपस्थित भएनन् । एमालेबाट एक मात्र सांसद सारदा देवी उपस्थित भएर सरकारको उपस्थिति नरहेको बैठकमा सभामुखबारे छलफल गर्न नसकिने भन्दै नियमापत्ति जनाएपछि बैठक ने स्थगित गरियो । 

बुधबार बारामा भएको झडपमा पनि एमालेले माओवादीलाई आरोपित गरेको छ । एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेयले एमालेको कार्यक्रम भाँड्न खोज्ने र नेताहरूमाथि गालीगलौज गर्ने असली जेनजी नभएर माओवादीका कार्यकर्ता भएको आरोप लगाए । सिमरा घटनाबारे काँग्रेस, रास्वपा लगायत पार्टीका नेताहरुले समेत आपत्ति जनाएका छन्, यस्तो निषेधको हर्कतले चुनावी वातावरण बिथोलिने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update