काठमाडौँ । तत्कालीन सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमाले पुनः संसद विघटनको पक्षमा संगठित हुने संभावना बढेको छ । नेकपा एमालेले सुरुकै दिनदेखि संसद पुनस्र्थापनाको एजेण्डा बोकेर हरहालत पुनस्र्थापना गराउनुपर्ने पक्षमा छ । यस्तैमा नेपाली काँग्रेस पनि संसद विघटनविरुद्ध औपचारिक रुपमै कदम अघि बढाउने तयारीमा देखिएको छ ।
काँग्रेसभित्र संसद विघटनविरुद्ध कानूनी उपचारमै जाने माहोल बनाउने तयारी भइरहेका छन् । यो मुद्धामा पार्टीलाई संसद पुनर्स्थापनाकै पक्षमा लैजान काँग्रेसका निवर्तमान सांसदहरुले हस्ताक्षर अभियान नै थालेका छन् । काँग्रेसका तत्कालीन सांसदहरुले पार्टी केन्द्रीय समितिको बैठक बस्नु अघि नै हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।
काँग्रेसले सघाउने ओलीको त्यो आशा
एमाले संसद पुनस्र्थापनाका लागि सुरुकै दिनदेखि वैचारिक लडाइँमा छ । उसले यसका लगि पार्टीका विभिन्न तहबाट विभिन्न चरणमा आन्दोलनसमेत सुरु गरेको छ । एमालेले लगातार रुपमा वडा, पालिका र जिल्ला तहमा प्रदर्शन गरेको छ, भने यही मंसिर ६ गते काठमाडौंमै भव्य प्रदर्शन गर्दैछ । एमालेले यो अभियान सुरु गर्दाअघि नै अध्यक्ष ओलीले भने तत्कालीन सत्ता साझेदार दल नेपाली काँग्रेससँग छलफल गरिनै रहेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर रहँदासमेत ओलीले यो विषयमा संवाद गरेको खुलेको थियो । यही बखत ओलीले काँग्रेस पनि संसद पुस्र्थापनाको मुद्धामै आउने दावी गरेका थिए ।
ओलीले पछिल्लो समय पार्टीलाई अझ सशक्त रुपमा संसद विघठनविरुद्ध उभ्याउनस सफल भएका छन् । मंगलबार च्यासलमा बसेको एमालेका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकले पनि औपाचारिक रुपमै संसद विघठनविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको छ । सो बैठकले संसद विघठन कुनैपनि हालतमा स्वीकार नगर्ने निश्कर्ष निकालेको थियो ।
काँग्रेसमा दुई धार
एमालेले संसद पुनस्र्थापनाका लागि काँग्रेसबाट सहयोगको अपेक्षा गरेपनि काँग्रेसमा भने पुनस्र्थापनाको सवालमा दुई मत आइरहेका छन् । काँग्रेसको गगन थापा समूह संसद पुनस्र्थापनाको मुद्धा बोक्नु गलत हुने बुझाइमा छ । तर समापति शेरबहादुर देउवा भने यो विषयमा अनिर्णित नै छन् । यही अवस्थामा काँग्रेसका धेरैजसो निवर्तमान सांसदहरु भने पार्टीबाट औपाचारिक निर्णय नै गराएर संसद पुनस्र्थापना गराउन भन्दै हस्ताक्षर अभियानमा लागेका हुन् । सम्भवत हस्ताक्षर अब तत्कालै बस्ने काँग्रेसको केन्द्रीय कमिटिमा पुग्ने संभावना छ । यदी यो हस्ताक्षरको दवाबले काँग्रेस नेतृत्व संसद पुनस्र्थापनाकै मुद्धा लिएर अघि बढे पुनः यो मुद्धामा काँग्रेस र एमाले सहकार्य गर्ने पक्का छ । तत्कालीन संसदमा काँग्रेस सबैभन्दा ठूला दल हो । विघठित प्रतिनिधि सभामा कांग्रेसका ८८ सांसद थिए । त्यस्तै तत्कालीन सरकारको नेतृत्व सम्हालेको दल एमाले संसदमा दोस्रो ठूलो दल थियो ।
ओली र लेखक बयानमा तानिने खतरा
भदौँ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको सम्बन्धमा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई वयानमा बोलाउने संभावना बढेको छ ।
जेनजीका विभिन्न प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई कारबाही गर्न माग गर्दै आएका छन् । यस्तैमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको तीन सदस्यीय जाँचबुझ आयोगले ओली र लेखकलाई बयानमा बोलाउने लगभग निश्चितजस्तै भएपनि मिति भने तय भइसकेको अवस्था छैन । यो संकटबाट बच्न र भदौ २३ र २४ को घटनाको सम्बन्धमा एकस्वर बन्न पनि काँग्रेस र एमाले पुनः संगठित हुने आंकलन गर्न थालिएको छ ।
