झापा । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेको आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ ।
निर्वाचन आयोगले नयाँ मतदाता दर्ता, पुराना नामावली संशोधन तथा मृतक वा दोहोरो नाम हटाउने कार्य देशव्यापी रूपमा शुरु गरेपछि जिल्ला निर्वाचन कार्यालय झापामा विहानैदेखि नागरिकको लाइन लाग्ने गरेका छन् ।
वर्तमान सरकारले निर्वाचन लक्षित गरि असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म मतदान नामावली दर्ता अभियान सञ्चालन गरेको थियो ।
त्यसमा पनि सबैलाई समेट्न नसकिने भएपछि सरकारले पुनः मंसिर ५ गतेसम्मका लागि म्याद थपेर अहिले धमाधम नयाँ मतदाता दर्ता, पुराना नामावली संशोधन तथा मृतक वा दोहोरो नाम हटाउने कार्य सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पछिल्ला दिनमा दैनिक सयौं नागरिकले आफ्नो नामावली दर्ता गराइरहेका छन् ।
विशेषगरी पहिलोपटक मताधिकार प्रयोग गर्न उत्साहित युवाहरूको उपस्थिति उल्लेखनीय देखिएको छ । १८ वर्ष पूरा गरेका विद्यार्थी, रोजगारीका लागि विदेश जानुअघि नाम दर्ता गराउन आएका युवाहरू, र विवाहपश्चात नयाँ बसोबास स्थलमा नाम सार्न आएका महिलाहरूको भीडले निर्वाचन कार्यालय परिसर नै खचाखच भरिएको छ ।
देशको भविष्य निर्माणमा हाम्रो सानो मतले ठूलो अर्थ राख्छ भन्ने विश्वास रहेको नयाँ मतदाता बनाउन आएका स्थानीय युवाको भनाइ छ ।
त्यस्तै पूर्वशिक्षकसमेत रहेका ज्येष्ठ नागरिक पिताम्बर शर्माले फागुनमा हुने निर्वाचन देशका लागि महत्त्वपूर्ण रहेको बताउँछन् । धेरै निर्वाचनमा सहभागी भइयो तर, यसपटकको अवस्था फरक छ । त्यसैले निर्वाचनमा जेनजी पुस्ता, राजनीतिक दल, नागरिक समाज, सचेत नागरिक सबैको सक्रिय सहभागीले सफल बनाउन आवश्यक रहेको उनको भनाइ छ।
निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचन आयोगले यस वर्ष मतदाता नामावली अद्यावधिक कार्यलाई द्रुत गतिमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
झापामा नयाँ मतदाता दर्तामा जेनजी पुस्ताको उत्साहजनक सहभागीता रहेको उनको भनाइ छ । दैनिक १ हजार ४ सय बढीले नयाँ मतदाता नामावली दर्ता गरिरहेका छन् ।
जसमा जेनजी पुस्ताको सहभागीता करिब ९० प्रतिशत रहेको छ । गत निर्वाचनमा झापाको पाँच निर्वाचन क्षेत्रमा गरि जम्मा ६ लाख ६३ हजार ३११ जना मतदाता थिए भने यसपटकको निर्वाचनमा यो संख्या बढेर ६ लाख ९० हजारबढी हुने आकलन कार्यालयले गरेको जनाएको छ ।
फागुनमा हुने निर्वाचनका लागि मतदाता नामावली संगै कार्यालयले निर्वाचनका लागि २८५ वटा मतदान स्थल र ७८६ वटा मतदान केन्द्र तयार गरिरहेको न्यौपानेको भनाइ छ ।
निर्वाचन नजिकिँदै जाँदा मतदाता नामावली केन्द्रमा देखिएको उत्साहले जनतामा लोकतन्त्रप्रतिको आस्था झल्काएको छ । तर, निर्वाचनमा जेनजी समुहसंगै कुनकुन राजनैतिक दलहरूको सहभागीता हुने नहुने भने कुराले भने असर पार्ने देखिन्छ ।
