काठमाडौँ । बदलिँदो आर्थिक र औद्योगिक परिवेशका कारण श्रम तथा रोजगारी क्षेत्र व्यापक संकटमा रहेको श्रमिक नेताहरुले बताएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा उनीहरुले पछिल्लो समय श्रमिकहरु समस्यामा परेको बताएका हुन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालको जेन–जी आन्दोलनले श्रमिकहरुलाई झनै ठुलो समस्यामा पारेको बताए । उनले पछिल्लो समय पर्यटन क्षेत्र र औद्योगिक उत्पादन ध्वस्त भएकोले श्रमिकको जीवनस्तर भयावह बन्दै गएको जानकारी दिए । पछिल्लो परिवर्तनले राम्रो गर्न सकिने अपेक्षा रहे पनि श्रम क्षेत्रमा सबैभन्दा ठूलो असर परेको उनको भनाई छ ।
उनले न्युनतम ज्याला कार्यन्वयन हुन नसक्दा पनि श्रमिकहरु समस्यामा परेको बताए । हालै नर्सहरू समेत न्युनतम ज्याला कार्यन्वयन गर्नक लागि आन्दोलनमा उत्रिनु परेको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले नेपालको सामाजिक सुरक्षा कोषमा संसारको सबैभन्दा राम्रो भए पनि औपचारिक क्षेत्रका मजदुर कोषमा न्युन सहभागी भएको बताए । उनले २६ लाख श्रमिक सामाजिक सुरक्षाकोषमा आवद्ध भए पनि औपचारिक क्षेत्रका श्रमिक ६ लाख मात्रै आबद्ध भएको बताए ।
उनले भने, ‘विगत भन्दा राम्रो काम गर्न परिवेश बदलियो तर श्रम क्षेत्रलाई सबैभन्दा बढी असर गर्यो । श्रम क्षेत्रलाई सबैभन्दा बढी किन असर गर्यो भन्दा हामी सबैले भोगिरहेकै छौँ । राम्रो गर्न गरेका कामहरु सबैभन्दा खराब भयो भनेर हामी भन्न सक्छौ । पर्यटन क्षेत्र ध्वस्त भयो, औधोगिक क्षेत्र ध्वस्त भयो । सबैतिर ध्वस्त हुँदाहुँदै अब मजदुर फ्वाट, मजदुर वर्ग डिप्रेशनको सिकार हुनुपर्ने बाध्यता आईरहको छ । यस्तै भयो भने अब मर्नु भन्दा बौलाउनु निको भन्ने चाला हामीकहाँ भईरहको छ । भएको न्युनतम ज्याला पनि दिईरहेको छैन । भर्खरै तपाईहामीले देखिरहेका छौँ, नर्सहरुले आन्दोलन गरेर ज्याला माग्दा पनि अहिले लागू नभईरहको अबस्था छ । लाखौँ खर्च गरेर पढ्ने नर्सहरु आज न्युनतम ज्याला नपाएर तड्पिरहेका छन् ।’
नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाल लगायत विश्वको श्रम बजारलाई नै अस्थिर बनाउने प्रमुख कारण अनौपचारिक क्षेत्रको बृद्धि भएको बताए । उनका अनुसार हाल ८५ प्रतिश भन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा रहेका छन् । यसले मर्यादित कामको अवधारणालाई कमजोर बनाइरहेको उहाँको भनाई छ । बेरोजगारी र वैदेशिक रोजगारको दबाबले पनि मर्यापदत कामको लागि चुनौती थपिएको उहाँले बताए ।
उनले भने, ‘अहिलेको विश्वको लागी सबैभन्दा ठुलो च्यालेन्जको कुरा के हो भने अनौपचारिककरण नै हो । हामी औपचारिकताको कुरा गरिरहेका छौ तर भईरहको छ, अनौपचारिकरण । अहिले ८५ प्रतिशत भन्दा बढी अनौपचारिक क्षेत्र छ । त्यो अहिले मर्यादित कामको लागी सबैभन्दा ठुलो बाधक हो । त्यसैगरि बेरोजगारी र बैदेशिक रोजगारीमा भईरहेको दबाबले मर्यादित कामको लागी चुनौती दिइरहेको छ । न्युन ज्याला, न्युन ज्याला अहिले दुर्भाग्य छ । हामी अहिलेपनि न्युनतम ज्यालाको कुरा गरिरहेका छौँ तर त्यो पनि कार्यन्वयन भईरहेको छैन । न्युनतम ज्याला कार्यन्वयन नभईकन सामाजिक सुरक्षा कार्यन्वयन हुनसक्छ ? सामाजिक सुरक्षा कार्यन्वयन गर्न सबैभन्दा पहिला न्युनतम ज्याला अनिवार्य कार्यन्वयन गर्नसक्नुपर्यो ।’
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) बुधवार “बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा” विषयक उच्चस्तरीय संवाद कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विश्लेषक डा. हरी शर्माले वर्तमान परिवेशमा जेटियूसीसीको भूमिका र आगामी निति र नारायण भट्टराईले मर्यादित काम, ज्याला र सामाजिक सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले श्रम क्षेत्रमा देखिएको अव्यवस्था, न्युनतम ज्याला कार्यान्वयन नहुनु, अनौपचारिकीकरणको तिब्रता र सामाजिक सुरक्षा कोषको कमजोर सहभागिता यस क्षेत्रका प्रमुख चुनौती रहेको औँल्याएका छन् ।
