काठमाडौँ । एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा चल्दैछ । यो महाधिवेशनमार्फत केपी ओली तेस्रो पटक एमालेको नेतृत्वमा रहने प्रयत्नमा छन् । यही प्रयोजनका लागि अध्यक्ष ओलीले पार्टीको विधान परिमार्जन नै गरेर उमेर हदसहित अन्य बाधाहरु हटाएका थिए । यसअघि ओली महाधिवेशन लम्याउने चाहनामा रहेपनि नेताहरुको दवाबले सफल भएनन् ।
सोही अनुसार नै मंसिर अन्तिम सातामै एमालेको महाधिवेशन हुँदैछ । तर एमालेको ११औँ महाधिवेशनमार्फत पनि ओली सर्वसम्मत रुपमै अध्यक्ष बन्नसक्ने संभावना देखिँदैन । यो महाधिवेशनमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने पक्कापक्की भएको छ । पोखरेलले महाधिवेशन तयारीबारे छलफलका लागि बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा केपी ओलीसहितका नेताहरुलाई अध्यक्षमा उठ्नेबारे औपचारिक रुपमा जानकारी गराएको जनाइएको छ । ईश्वर पोखरेलले अध्यक्ष ओलीलाई पदबाट बिदा लिन आग्रह गर्दै उम्मेदवारी दिने जानकारी गराएका छन् । ईश्वरको यो घोषणाले ओलीमाथि धक्का पुग्ने देखिन्छ । अर्कोतर्फ ओलीको तेस्रो पटकको अध्यक्ष दावीमा सर्वसम्मत बन्ने चाहनामा पनि ठेस लाग्ने निश्चित छ ।
ईश्वर पनि छुट्ने ओली त्रास !
महाधिवेशनमा आफूसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणापछि पार्टी फुट्नसक्ने भन्दै अध्यक्ष केपी ओली भने चिन्तित देखिएका छन् । हुनपनि विगतमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका कुनैपनि नेताहरु एमालेमा छैनन् । एमालेको आठौँ महाधिवेशनमा झलनाथ खनाल अध्यक्षमा विजयी भएका थिए । त्यो बेला झलनाथको प्रतिस्पर्धी केपी ओली नै थिए । तर पछिल्लो समय एमालेको राजनीतिबाट खनाल बाहिरिसकेका छन् ।
त्यस्तै नवौँ महाधिवेशनमा पनि ओली र माधव नेपालबीच प्रतिस्पर्धा भयो । यो महाधिवेशनमा माधव नेपाल ओलीसँग पराजित भए । यही प्रतिस्पर्धाबाट ओली र माधवको सम्बन्धमा दारार आयो । र, माधव पनि अहिले एमालेको राजनीतिबाट बाहिरिएका छन् । त्यस्तै एमालेको १०औँ महाधिवेशनमा पनि ओली सर्वसम्मत अध्यक्ष बन्न सकेनन् । उनले सर्वसम्मतिमै कार्यसमित चयन गर्न चाहेपनि उनलाई अध्यक्षमा तत्कालीन उपाध्यक्ष भीम रावलले चुनौती दिए । तरपनि पाराजित भएका भीम रावलमाथि कारवाही भयो ।
ओलीकै कारवाहीपछि भीम रावलपनि अहिले एमाले राजनीतिबाट अलग्गिसकेका छन् । यस्तै श्रृंखला ईश्वर पोखरेलले पनि दोहो¥याउनेमा ओली आशंकित देखिएका हुन् । बिहीबारको सचिवालय बैठकमा ईश्वरले औपचारिक रुपमै अध्यक्षमा उठ्ने जानकारी गराएपछि ओलीले नै ईश्वर हारेको अवस्थामा पार्टी फुट्ने होकी ? भन्दै आशंका व्यक्त गरेका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेको नेतृत्वमा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिँदै आएका पात्र हुन् । उनले पछिल्लो समय नेतृत्वका लागि सशक्त दावी पेश गर्दै आएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पुनरागमनको प्रयासलार्ई ओलीले रोक्दा पनि पोखरेल विद्याको पक्षमै उभिएका थिए ।
एमालेमा ईश्वरको यात्रा
ओलीका समकालीन राजनीतिक यात्री ईश्वर पोखरेल एमाले नेतृत्वका लागि अहिलेका सबैभन्दा सशक्त दाबेदार हुन् । बि.स. २०३२ सालमा स्थापित कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य बनेका ईश्वरको एमालेसँगको सम्बन्ध ५ दशकभन्दा लामो भइसकेको छ । कुनैबेला झलनाथ र माधव निकट रहेका पोखरेल २०७४ सालको नेकपाताका ओली निकट रहेका थिए ।
सोही समय उनी नेकपाको सचिवालय सदस्य बनेका थिए । र, ओली सरकारको नेतृत्वमा हुँदा ईश्वर उपप्रधानसहित रक्षा मन्त्री बनेका थिए । एमालेमै दुई कार्यकाल महासचिव बनेका उनी चितवनमा सम्पन्न १०औँ महाधिवेशनबा वरिष्ठ उपाध्यक्ष बनेका थिए ।
