काठमाडौँ । बुधबार नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा युवा सङ्घले आयोजना गरेको ‘युवा जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न सिमरा विमानस्थलमा उत्रिने तयारी गरिरहेका बेला जेनजी समूहका युवाहरूले विमानस्थल आसपास प्रदर्शन र नाराबाजी गरेपछि झडपको स्थिति उत्पन्न भयो । मधेश प्रदेशको राजनीतिक विरोध र एमाले नेताहरू (विशेषगरी महेश बस्नेत र केपी शर्मा ओली) ले जेनजी आन्दोलन तथा अन्तरिम सरकारविरुद्ध दिएका आक्रामक अभिव्यक्तिका कारण आक्रोशित युवाहरूले घेराउको प्रयास गरेका थिए । प्रतिरोधमा उत्रिएका एमाले युवा सङ्घका कार्यकर्ताहरूले जेनजी युवामाथि हातपात गरेपछि परिस्थिति भड्कियो । जसका कारण बुधबार र बिहीबार स्थानीय प्रशासनले सिमरामा कफ्र्यू नै जारी ग¥यो । बिहीबार पनि प्रहरी र जेनजी समूहबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास र हवाई फायर समेत ग¥यो ।
शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न स्थानीय प्रशासनले आग्रह गरे पनि तोडफोड र प्रहरीमाथि आक्रमणमा उत्रिएका जेनजी समूह वार्तामा बसेनन् । उनीहरूले बिहीबार सिमरा चोकस्थित मुख्य सडकमै छलफल, धर्ना र विरोध जारी राखे । छलफलमा सहभागी युवाहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवामाथि पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखे ।
शुक्रबार काठमाडौँको माइतीघरमा पनि जेनजी समूह धर्नामा बसे । एमालेको गतिविधिप्रति रुष्ट उनीहरुले एमाले नेताहरुविरुद्ध नाराबाजी समेत गरे । तर बुधबार नै एमालेको युवा संघले खडा गरेको नयाँ दस्ता ‘नेशनल भोलेन्टियर फोर्स’ समेत प्रतिरोधको चेतावनीसहित माइतीघर नजिकै बबरमहलमा प्रदर्शन ग¥यो । फोर्सले सामाखुशी र जावलाखेलबाट ¥याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास र प्रदर्शन गरेको हो । यसरी जेनजी र एमाले शक्तिहरु बारा तथा काठमाडौँमा आमनेसामने निस्किएपछि यसले भिडन्तको जोखिम र सुरक्षा चुनौती बढाएको छ ।
एमाले नेतालाई पक्राउ गर्दा एमालेका कार्यकर्ताबाट विरोध र आन्दोलन चर्किने डर एकातिर छ भने पक्राउ नगर्दा जेनजीहरु झनै उत्तेजित हुने डर अर्कोतिर छ । यसले बाराको सुरक्षा चुनौती मात्र थपेको छैन, अन्य स्थानमा समेत यस्ता घटना दोहोरिने र आगामी निर्वाचनमा यसको सीधा असर पर्ने विश्लेषणहरु भइरहेका छन् । एमाले नेता महेश बस्नेतले शुक्रबार फोर्सको प्रदर्शनका क्रममा एमाले नेतालाई पक्राउ गरेमा या बयानमा बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिए ।
बारामा मात्र हैन, काठमाडौँमा पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत तत्कालीन जेनजी आन्दोलन दबाउनेहरुलाई पक्राउ गर्न जेनजी सूमहले बारम्बार सरकारलाई दबाब दिँदै आएका छन् । भदौ २३ र २४ का घटनामाथि अनुसन्धान गर्न र दोषी किटान गर्न आयोग गठन गरिएको भए पनि कानुनी पाटो समेत ख्याल नगरी सीधा पक्राउको दबाब बढ्दा सरकार र जेनजी समूहबीच नै द्वन्द्व देखिएको छ । ओलीलाई पक्राउ नगरेको भन्दै केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग भएकोमा अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई नै फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले राष्ट्रपतिलाई ज्ञापन बुझाएका छन् ।
बिहीबार काठमाडौँमा सक्रिय विभिन्न २३ वटा जेन–जी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन–पत्र बुझाउँदै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गरे । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमाथि दमन गर्ने पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्ने, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको भए तापनि सरकार केवल चुनावमा मात्र केन्द्रित भएको उनीहरुको गुनासो छ ।
एकातिर जेनजी समूहको उग्रता कायमै रहनु र अर्कोतिर एमाले लगायत केही दलहरु निर्वाचनको विरोध तथा संसद पुनःस्थापनाको पक्षमा अघि बढ्नुले मुलुकमा शान्तिपूर्ण निर्वाचन गराउन सकस हुने देखिएको छ । हुँदाहुँदा निर्वाचनको विरोधमा जेनजी समूहहरु नै देखापरिसकेका छन् । सरकार भने जसरी पनि फागुन २१ मा निर्वाचन गराउने तयारी अघि बढेको छ भने राजनीतिक दलहरुलाई लोकतन्त्र रक्षाका लागि चुनावमा जान आग्रह गरिएको छ । बुधबार सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले दलहरु चुनावमा नजाने हो भने अराजकता स्वीकार गरिएको ठहर्ने चेतावनी दिइन् । बिहीबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी आगामी निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।
