News 24 Television
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग !

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका अहिले अस्तव्यस्त बनेको छ । नगरपालिकामा कर्मचारीहरु रहेपनि सेवा प्रवाह गर्न हात बाँधे सरह दिन विताउनु परेको छ, कर्मचारीले । चालु आर्थिक वर्षको पहिलो चौमासिक नै सकिएपनि अहिलेसम्म पनि यस नगरपालिकाको बजेटसम्बन्धि लफडाले नगरवासी हैरान बनेका छन् । 

यो हो सप्तरीको कञ्चनरूप नगरपालिका । कञ्चनरूप नगरपालिका– ९ का स्थानीय भोला यादव नगरपालिका कार्यालय पुगेका थिए । 

उनलाई जग्गा विवाद सम्बन्धमा न्यायीक शाखामा काम थियो । तर कार्यालयमा कागज र कम्प्युटर नरहेकोले उनको काममा कुनै सुविधा दिन सकिएन र उनी यसै फर्किनु पर्यो । 

कर्मचारीलाई सोध्दा कार्यालय अस्तव्यस्त रहेको भन्ने जवाफ पाएपछि उनी निराश भएर फर्के । यता, वडा नं १० घर भएका सिकन्दर शेख पनि आफ्नो वृद्धभत्ताबारे बुझ्न कार्यालय पुगेका थिए । तर, उनले आश्वासन बाहेक केही पाएनन् । नगरपालिकाको खाता संचालन नभएकोले अहिले वृद्धभत्ता दिन नसकिने सुनेर उनी निराश भए । भत्ता नपाउँदा घरमा नुन तेलदेखि औषधि किन्नसम्ममा समस्या परिरहेको उनको दुखेसो छ ।

नगरपालिकामा नगरसभा नहुँदा चालु आर्थिक वर्षको चार महिनासम्म दश हजार जना सामाजिक सुरक्षा भत्ताका सेवाग्राही बञ्चित छन् । कर्मचारीको तलबदेखि गाडीको इन्धन समेत किन्न नसक्ने अवस्था रहेको देखिएको छ । नगरपालिकाको आर्थिक कारोबार नै सुरु नभएर वडा कार्यलय संचालनमा समस्या जटिल बन्दै गएको वडाध्यक्ष बताउँछन् । 

नगरपालिका प्रमुख ललन गुप्ता पनि समस्याहरू व्याप्त रहेको स्विकार्छन् । तर, उपप्रमुखले पटकपटक मुद्दा गरेर नगरसभा हुन नदिँदा बजेट कार्यान्वयन गर्न नसकिएको उनी आरोप छ । 

उच्च अदालत जनकपुर राजविराज इजलासको तथ्याङ्क अनुसार नगरपालिकाकी उपप्रमुख मुन्ना पोखरेल २०८२ असार ६ र ११ उत्प्रेष्ण, निषेधाज्ञासहितको परमादेश र भदौ २ गते अवहेलना मुद्दा दायर गरेकी छन् । 

जसमा नगरसभाको निर्णय कार्यान्वयन नगर्न परमादेश माग गरिएको छ । असारम १२ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश गरेको छ । यी मुद्दाको टुंगो नलाग्दा कार्तिक २७ गते चौथो मुद्दा अदालतको अवहेलना समेत उनले दर्ता गराएकी छन् । 

नागरिकको सबैभन्दा नजिकको सरकारभित्र जनप्रतिनिधिबीचको यस्तो लफडा र निकास खोज्नतर्फ जनप्रतिनिधि गैरजिम्मेवार हुँदा यसको प्रत्यक्षमारमा नगरवासी परिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update