News 24 Television
बाबुरामको अभिभावकत्वमा प्रलोपा, माओवादी र रास्वपा छाडेका नेताको साथ

काठमाडौँ । बौद्धिक र शालीन नेताको छवि बनाएका डा. बाबुराम भट्टराईले लामो समय तत्कालीन विद्रोही नेकपा माओवादीमा बिताए । अध्यक्ष प्रचण्डसँग अनेक वैचारिक ठाकठुक र राजनीतिक दाउपेचका सिकार बनेका भट्टराईले २०७२ मा नेपालको संविधान जारी भएपछि माओवादी त्यागेर नयाँ शक्ति नामक पार्टी खोले । तर नयाँ शक्ति स्थापित हुन सकेन, त्यसपछि उनी मधेशकेन्द्रित दलहरुसँग आबद्ध भए । डा. भट्टराईको राजनीतिक यात्रा धेरै ठूला घुम्ती र उतारचढावहरूले भरिएको छ । उनका प्रमुख राजनीतिक घुम्तीहरूको चर्चा गर्दै गर्दा पछिल्लो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) उनको राजनीतिक जीवनको सम्भवतः अन्तिम बिसौनी हुने अड्कल गर्न सकिन्छ । यद्यपि सक्रिय भूमिकाबाट उनी यसअघि नै अलग भइसकेका छन् । आइतबार घोषणा गरिएको प्रलोपाको अध्यक्षमा दुर्गा सोव छिन्, डा. भट्टराई त्यसको अभिभावक मात्रै हुन् अब । तापनि उनकै मार्गदर्शक सिद्धान्तमा पार्टी अघि बढ्नेछ ।

आईतवार काठमाडौँमा एक कार्यक्रमका बीच घोषणा गरिएको प्रलोपामा मुख्यतः तीन घटक छन् । पहिलो, डा. भट्टराईकै अभिभावकत्मा रहेको दुर्गा सोव नेतृत्वको नेसपा (नयाँ शक्ति) हो । दोस्रो, माओवादी केन्द्रबाट विद्रोह गरेर आएका जनार्दन शर्मा, सुनद किराती लगायत नेताहरुको प्रगतिशील राष्ट्रिय अभियान र तेस्रोमा रास्वपा परित्याग गरेका सन्तोष परियार । यसरी माओवादी र रास्वपा छाडेर आएका नेताहरुको साथमा नवगठित प्रलोपामा १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उक्त दल निर्वाचन आयोगमा दर्ता समेत भइसकेको छ । प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको सो पार्टीको चुनाव चिन्ह ‘आँखा’ राखिएको छ । पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने बताइएको छ ।

बाबुरामका प्रमुख राजनीतिक घुम्तीहरू 

तत्कालीन माओवादीले भूमिगत रुपमा सशस्त्र युद्ध थाल्दा (वि.सं. २०५२) बाबुराम पनि त्यसका प्रमुख मास्टरमाइन्ड थिए । त्यसबेला माओवादीका प्रमुख विचारक र रणनीतिकारका रूपमा उनी स्थापित भए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र बुझाएर उनी भूमिगत भएका थिए भने सशस्त्र द्वन्द्वकालमा उनी प्रचण्डका दाहिने हात थिए । तर पति प्रचण्डबाटै उनी पाखा लगाइए र अनेक धोकाधडी भयो भन्ने आरोप लाग्छ । वि.सं. २०६२÷६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो र बाबुराम पनि खुला राजनीतिमा आए । र पहिलो संविधानसभा निर्वाचन (२०६४) मा गोरखाबाट अत्यधिक मतान्तरले विजयी भएर चर्चामा आए । त्यपछि उनी अर्थमन्त्री (२०६४) र प्रधानमन्त्री (२०६८) समेत बने । उनको कार्यकालमा अर्थतन्त्रका केही सूचकहरूमा सुधार आएको र काठमाडौँ सडक विस्तारको अभियान चलेको थियो । प्रधानमन्त्रीको तुलनामा अर्थमन्त्री पद उनलाई फापेको देखिन्छ । पहिलो संविधानसभाबाट संविधान बनाउन असफल भएपछि तत्कालीन प्रधानमन्त्री रहेका बाबुराले संसद संविधानसभा विघटन गरेका थिए । दोस्रो संविधानसभामा भने संविधान मस्यौदा समितिको सभापतिको रूपमा संविधान निर्माणमा उनले महत्त्वपूर्ण भूमिका खेले ।

तर संविधान जारी भएपछि वि.सं. २०७२ असोजमा उनले माओवादीलाई त्यागेर नयाँ धारको राजनीति घोषणा गरे । ‘अपूर्ण संविधान’ भन्दै उनले तत्कालीन एकीकृत नेकपा (माओवादी) र संसद् सदस्यबाट राजीनामा दिए । उनले यसलाई पाँच ‘स’ (शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी) को मार्ग अपनाउने घोषणा गरे । वि.सं. २०७३ जेठ ३० गते उनले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले नयाँ शक्ति पार्टी, नेपाल गठन गरे । नयाँ शक्तिबाट अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न नसकेपछि उनले मधेशकेन्द्रित दलहरूसँग सहकार्यको बाटो रोजे । नयाँ शक्ति पार्टीले सङ्घीय समाजवादी फोरम, नेपाल सँग एकीकरण गरी समाजवादी पार्टी, नेपाल गठन ग¥यो (वि.सं. २०७६ वैशाख) । पछि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरण भएर जनता समाजवादी पार्टी, नेपाल (जसपा) बन्यो (वि.सं. २०७७ वैशाख) । उनी जसपाको संघीय परिषद् अध्यक्ष बनेका थिए ।

मधेसकेन्द्रित दलहरुसँग पनि खटपट जारी रहेपछि र अपेक्षित उपलब्धि हासिल नभएपछि बाबुराम फेरि पार्टी टुक्य्राउँदै अलग भए । जसपाभित्र अध्यक्ष उपेन्द्र यादवसँगको शक्ति संघर्ष चुलिएपछि उनी जसपाबाट अलग्गिए र नेसपा (नयाँ शक्ति) चलाए । त्यो लामै समय किनारामा रह्यो । पछिल्लो समय पुनः प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रसँग एकता गर्ने प्रयास रहे पनि मतभिन्नताकै कारण एकता हुन सकेन । यसरी बाबुरामको राजनीतिक यात्रालाई ‘विचारका राजनेता’ देखि ‘अस्थिर नेता’ सम्मको उपमा दिने गरिन्छ, जहाँ उनले नयाँ प्रयोगको खोजीमा बारम्बार पार्टी परिवर्तन र एकीकरणको बाटो अपनाएका छन् । त्यसैको पछिल्लो बिसौनी बनेको छ– प्रलोपा । अब यसबाट केकति उपलब्धि हासिल हुन्छ, हेर्न बाँकी छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update