News 24 Television
ओली–प्रचण्ड : फरक–फरक बाटोका दुई प्रतिस्पर्धी ?

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट पार्टी गठन गरेर आफूलाई कम्युनिष्ट पार्टीको शक्ति केन्द्रमा राख्ने प्रयासमा  छन् । उनले गत मंसिरमा विभिन्न १० कम्युनिष्ट घटकहरुलाई एकतामा ल्याएर नेपाली कम्युनिष्ट पार्टी गठन गरेका छन् । जुन संगठनको संयोजक प्रचण्ड स्वयम बने । यो एकताकोले कम्युनिष्ट संगठनको एक सशक्तता प्रस्तुत गरेको छ । यसले अर्को ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेलाई नै समेत चुनौती दिएको छ । मुख्यतः जेनजी आन्दोलनपछि सृजित राजनीतिक परिस्थितिले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई नै प्रतिस्पर्धाको मैदानमा उतारेको छ । यो प्रतिस्पर्धामा फेरिपनि एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै देखिएका छन् । 

प्रचण्ड र ओलीका आ–आफ्नै प्लान !

खासगरी भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलुकको शासकीय नेतृत्वमा नयाँ पुस्ता, सुशासन र पारदर्शिताको माग गरेको छ । यो आन्दोलनले केपी ओली तथा प्रचण्डजस्ता ‘टेस्टेड’ नेताहरुको बहिर्गमन नै चाहेको थियो । तर यो आन्दोलनको बखत सत्ता बाहिरै रहेकाले प्रचण्डलाई भने आफू अझै विकल्पका रुपमा रहिरहनसक्ने आत्मविश्वास जगाएको छ । तर उता ओली पनि जेनजीको आन्दोलनले ठूलै प्रभाव नझेलेको प्रमाणित  गराउँदै राजनीतिलाई निरन्तरता दिने प्रयासमै छन् । यसकैका कारण पनि ओलीले जेनजी आन्दोलनलाई गम्भीर लिएका छैनन् । 

ओली फेरि पार्टी र सत्ताको नेतृत्वमा आउने मनाशायमा देखिएका छन् । यो आधारले पनि प्रचण्ड  र ओली दुवै युवा पस्ताको जोडबलमै फेरि नेतृत्वमा पुनरागमनको प्रयास गरिरहेका छन् । प्रचण्डले शनिबार मात्रै जेनजी समूहलाई पार्टीमा समावेश गराएर यसको उदाहारण पेश गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले शनिबार नै एक हजारबढी जेनजी युवाहरुलाई पार्टी प्रवेश गराएको पनि दावी गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममै  प्रचण्डले भावि दिनमा पार्टीमा जेनजीको हिस्सा बढाउने प्रतिबद्धता जनाएका छन् । 

उता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि जेनजी र युवा पुस्तासँगै जोडिएर पार्टीलाई अघि बढाउने रणनीतिमा छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनलाई षड्यन्त्रको संज्ञा दिएपनि ओलीले पार्टी पङ्तिमा युवाहरुको सक्रियता देखाउन नेशनल भोलेन्टियर फोर्स घोषणा गरेका छन् । मुख्यतः ओलीले यो शक्तिलाई पार्टीको सुरक्षा प्रयोजनका लागि खटाउने देखिन्छ  ।

ओली र प्रचण्ड राजनीतिबाट विदा लिनुपर्ने दवाव सृजना हुँदा पनि जबरजस्ती रुपमा नेतृत्वमा रहने प्रयन्त गर्दा दुई नेताबीच शक्ति सञ्चयको प्रतिस्पर्धा स्पष्ट देखिन्छ ।  अर्कोतर्फ यी दुई पात्रबीच पनि निर्वाचनमा जाने सवालमा मत भिन्नता देखिन्छ । ओली संसद विघटन असंवैधानिक भएको भन्दै निर्वाचनको तयारीमा छैनन् । ओली वर्तमान सरकारको विरुद्ध र संसद पुनस्र्थापनाको पक्षमा मुद्धा नै लिएर अघि बढेका छन् । 

ओलीले पछिल्लो अभिव्यक्तिमा सरकारमाथि संवैधानिक प्रश्न उठाइरहेका छन्, भने उनी निर्वाचनमा जानै नजाने अडान लिइरहेका छन् । तर उता प्रचण्ड भने निर्वाचनको तयारीमा लागिसकेका छन् । यसरी हेर्दा प्रचण्ड आगामी निर्वाचनबाट जनताको मतबाटै पहिलो र शक्तिशाली दलसँगै सत्ता नेतृत्व सम्हाल्ने महत्वकांक्षामा देखिएका छन् । 

उता ओली भने आफ्नो नेतृत्वकै सरकार रहेका बेला भएको जेनजी आन्दोलनको उदेश्यलाई विफल पार्दै संसद पुनस्र्थापना गराएर आफ्नो कदम नै सही सावित गराउने रणनीतिमा छन् । यो कारणले पनि ओली र प्रचण्डलाई फेरि राजनीतिका फरक–फरक बाटोका दुई प्रतिस्पर्धीको रुपमा उभ्याएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update