News 24 Television
निरन्तर पार्टी एकीकरण अभियानमा प्रचण्ड, एकतामा आए १२ दल

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डको एकीकरण अभियानले दुई दर्जन बढी कम्युनिष्ट घटकहरुलाई एकतामा ल्याएको छ । नवगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा अहिले प्रचण्ड नै छन् । र, जेनजी आन्दोलनको प्रभावस्वरुप दलहरु आगामी निर्वाचनका लागि मजबुद बन्ने प्रयासमा रहँदै गर्दा प्रचण्डले नै वृहत कम्युनिष्ट एकताको अवधारणा ल्याएर ध्रुवीकरणको प्रयास थाले । जसअन्तर्गत नै कात्तिक २० गते १० वाम घटकहरुले पार्टी एकता गरे । यसपछि पनि अन्य दलहरु एकताका लागि आउनेक्रम जारी छ । यसपछि राम्रै आत्मबल पाएका नेताहरु नेपाली कम्युनिष्ट पार्टी आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने दावी गर्न थालेका छन् । 

हुनपनि नेपली कम्युनिष्ट पार्टीभित्र अनुभवी र पुराना नेताहरुको बाहुल्यता छ । यो पार्टीभित्र पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्री बनिसकेका नेताहरु पनि उल्लेख्य छन् । यो आधारले पनि उनीहरु जेनजी आन्दोलनपछिको बदलिदो राजनीतिमा आफूहरुलाई समर्थन प्राप्त हुने अपेक्षामा छन् । अर्कोतर्फ विभिन्न पार्टीहरुसँगको एकता नै नेपाली कम्युनिष्ट पार्टीको बल हो । निरन्तर भइरहेको पार्टी एकीकरणलाई निरन्तरता दिनेमा समेत प्रचण्ड अडिग छन् । गत काक्तिक २६ गते भीम रावलसँगको पार्टी एकतापछि नै प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीबाहेक सबैसँग एकता हुने उद्घोष गरेका थिए । 

यसपछि कात्तिक २० गते यतामात्रै प्रचण्डको संयोजकत्व रहनेगरी ११ दलहरु पार्टी ध्रूवीकरणमा आइसकेका छन् । यसबीचमा पुनः जनता समाजवादीबाट चोइटिएर राजेन्द्र श्रेष्ठसहितका नेताहरु पनि नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा बाँधिँदैछन् । जसपाको संघीय परिषद अध्यक्षसमेत रहेका राजेन्द्र श्रेष्ठसहितका नेताहरुले नेकपा प्रवेश गर्ने निर्णय गरिसकेका छन् । यो समूह पनि एकतामा आए नेपाली कम्युनिष्ट पार्टी १२ दलसहितको एकीकृत बन्नेछ । 

देशव्यापी एकतासभा गर्ने तयारी 

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ । संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पु¥याउन पार्टीले सभा गर्न लागेको नेताहरुले भनिरहेका छन् । यो सभाले विभिन्न दलबाट आएका नेता र कार्यकर्तालाई एकताको सन्देश दिने अपेक्षा गरिएको छ । 

निरन्तर पार्टी एकता र ध्रुवीकरणमा लागेका प्रचण्ड पार्टीलाई सशक्त बनाउने चरणमै छन् । जेनजीहरुलाईसमेत पार्टीमा समाहित गराइरहेका प्रचण्डले नेतृत्वमा नयाँ पुस्तालाई समेट्ने रणनीति पनि अपनाइरहेका छन् । तर विभिन्न दल, संगठन र जेनजीहरुलाईसमेत समावेश गराएर वृहत एकताको अभियानमा लागेका प्रचण्डको योजना कति सफल होला ? भन्ने प्रश्नको जवाफ अहिले नै दिन सकिने अवस्था छैन ।  यद्यपि प्रचण्ड भने निरन्तर रुपमा पार्टी ध्रुवीकरण र एकीकरणको प्रयासमै देखिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update