News 24 Television
विराटनगर र सुदूरपश्चिम उपाधि होडमा पुग्ने सम्भावना, अरु के गर्दैछन् ?

काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ मेला एनपीएल सिजन–२ जारी छ । अहिलेसम्म ११ खेल सकिएका छन् । आठवटै फ्रेन्जाइज टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । 

प्रत्येक टोलीले दुई भन्दा बढि खेल खेलिसकेको अवस्था छ । अंकतालिकाको शिर्ष स्थानमा पुग्न टोली विच होडबाजी नै चलेको देखिन्छ । देशी विदेशी नाम चलेका नामुद खेलाडीले दिलोज्यान लगाएर प्रदर्शन गरिरहेका छन् । लिगमा घरेलु खेलाडी भन्दा विदेशी खेलाडी हाबी देखिन्छन् । केहि नयाँ युवाले आशाको संचार पनि दिएका छन् । यस्तो अवस्थामा आठ टोलीका कप्तानको प्रदर्शन कस्तो भइरहेको छ त ? 

एनपीएल सिजन–२ को सुरुवाती खेलहरुमा सन्दीप लामिछाने नेतृत्वको विराटगर किङ्स र दिपेन्द्रसिंह ऐरी नेतृत्वको सुदुरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यी दुबै टोलीका कप्तान सन्दीप र दिपेन्द्रको खेल पनि उम्दा देखिएको छ । 

सन्दीप र दिपेन्द्रका अलवा लुक्बिनी लायन्सका कप्तान रोहित पौडेल र पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यद्यपी यी दुई खेलाडीको टोलीले अपेक्षित नतिजा निकाल्न सकेका छैनन् । साविक विजेता जनकपुर बोल्ट्सका कप्तान अनिल शाह, चितवन राइनोजका कप्तान कुशल मल्लले आंशिक खेल पस्किदा कर्णाली याक्सका कप्तान सोमपाल कामी र काठमाडौँ गोर्खाजका कप्तान करण केसीले मध्यम प्रदर्शन गरेका छन् । 

एनपीएल सिजन–२ मा आठ टोलीका कप्तानको प्रदर्शन 

१. सन्दीप लामिछाने, कप्तान, विराटनगर किङ्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य बलिङ हतियार सन्दीप लामिछानेले एनपीएल सिजन–२ मा धमाका मच्चाइरहेका छन् । टियु मैदानमा सन्दीपले आफ्नो बलिङको जादु देखाउँदा उनका समर्थक मन्त्रमुग्ध बनेका छन् । सुरुवाती तीन खेलमा विराटनगरलाई जित दिलाउन सफल सन्दीपको गुगलीले अन्य टोलीका ब्याट्सम्यान चक्मा खाइरहेका छन् । 

सन्दीपले एनपीएल सिजन–२ अन्र्तगत तीन खेलमा ७ विकेट सहित सर्वाधिक विकेटको लिड गरिरहेका छन् भने वेस्ट इकोनोमीको पहिलो नम्बरमा छन् । जनकपुर विरुद्ध वेस्ट इस्पेल ४÷११ रन रहेको छ । उनले ९ रन प्रहार गरेका छन् । भने फिनिसरको भुमिका देखिएका छन् । टोली निकै ब्यालेन्स रहेकाकाले ट्रफि नै उचाल्ने तयारीमा सन्दीप आशावादी छन् । 

२. दिपेन्द्रसिंह ऐरी, कप्तान, सुदूरपश्चिम रोयल्स 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेको सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरी निकै लयमा देखिएका छन् । बलिङ र ब्याटिङमा कितायती प्रदर्शन गरिरहेका दिपेन्द्रलाई एनपीएल सिजन–२ निकै फापेको देखिन्छ भने उपाधी भोक कायमै छ ।  

अघिल्लो संस्करणमा साविक विजेतामा चित्त बुझाउन पुगेको घाइते बाघ दिपेन्द्रले आक्रमक खेल पस्किरहेका छन् । तीन खेलमा दिपेन्द्रले पाँच विकेट लिएका छन् भने ९३ रन प्रहार गरिसकेका छन् । कर्णालीविरुद्ध उनले वेस्ट इस्पेल ४÷२३ रनको किफायती बलिङ गरेका छन् । 

३. अनिल साह, कप्तान, जनकपुर बोल्ट्स

जनकपुरलाई पहिलो संस्करणको च्याम्पियन बनाउन नायकी प्रदर्शन गरेका कप्तान अनिल शाह यस् संस्करणमा लयविहिन छन् । सुरुवाती दुबै खेलमा जनकपुरले हार ब्यहोर्दा कप्तान अनिलले विर्सनलायक प्रदर्शन गरेका छन् । 

दुई खेलमा उनले चार रन मात्रै जोडेका छन् । पहिलो खेलमा शुन्य रनमा आउट भएका उनले बलिङ पनि गरिरहेका छन् । बलिङमा उनले एक विकेट लिएका छन् । उनको कमजोर प्रदर्शनले डिफेन्डिङ च्याम्पियन जनकपुर लयविहिन देखिएको छ । 

४. कुशल भर्तेल, कप्तान, पोखरा एभेन्जर्स

राष्ट्रिय टोलीका ओपनर व्याट्सम्यान तथा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले एनपीएल सिजन–२ मा लय देखाएका छन् । भलै दुई खेल खेलेको भुर्तेल नेतृत्वको पोखरा जितविहिन हुँदै अंकतालिकाको पुछार छ । तर कप्तान भुर्तेलले भने राम्रो प्रदर्शन गरिरहेका छन् । दुबै खेलमा अर्धशतक प्रहार गरेका उनले ११२ रन प्रहार गरेका छन् भने एक विकेट पनि लिएका छन् । उनी सिजन–२ सर्वाधिक रन प्रहार गर्नेको उत्कृष्ट पाँच भित्र छन् । 

५. सोमपाल कामी, कप्तान, कर्णाली याक्स

राष्ट्रिय टोली भरपर्दा बलिङ अलराउन्डर तथा कर्णाली याक्सका कप्तान सोमपाल कामीले मध्यम प्रदर्शन गरिरहेका छन् । एनपीएल सिजन–२ मा तीन खेलमा दुई हार र एकमा जित निकालेको कर्णालीका कप्तान सोमपालले ६ विकेट लिँदा १४ रन प्रहार गरेका छन् । सोमपाल सर्वाधिक विकेट लिनेको तेस्रो नम्बरमा छन् । 

६. कुशल मल्ल, कप्तान, चितवन राइनोज

राष्ट्रिय टोलीका अलराउन्डर तथा चितवन राइनोजका कप्तान कुशल मल्लले सामान्य प्रदर्शन गरिरहेका छन् । चितवनले यस् सिजनमा २ खेल खेलिसक्दा एक खेलमा हार र एक खेलमा जित निकालेको छ । कप्तान मल्लले ४१ रन बनाउन बाहेक जादुमयी प्रदर्शन गर्न भने सकिरहेका छैनन् । 

७. रोहितकुमार पौडेल, कप्तान, लुम्बिनी लायन्स 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित कुमार पौडेल लुम्बिनी लायन्सका समेत कप्तान हुन् । अघिल्लो सिजन विर्सनलायक प्रदर्शन गरेको लुम्बिनीले मध्यम सुरुवात गरेको छ । विशेषरी कप्तान रोहितले यस् सिजन राम्रो इन्टेन्ड देखाइरहेका छन् । दुई खेलमा ८८ रन प्रहार गरेका छन् भने दुई विकेट लिएका छन् । 

८. करण केसी, कप्तान, काठमाडौँ गोर्खाज

राष्ट्रिय टोलीका नियमित खेलाडी करण केसीले काठमाडौँ गोर्खाजको नेतृत्व गरिरहेका छन् । चार खेल खेलेको काठमाडौँ उपाधी होडबाट बाहिरिने सम्भावन बलियो बनेको छ । कप्तान करणले प्रतियोगितामा जादु चलाउन सकिरहेका छैनन् । 

तीन खेलमा करणले ६ विकेट लिएका छन् भने ३५ बनाएका छन् । बेस्ट इस्पेल सुदुरपश्चिम विरुद्ध ४÷३० रन रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update