काठमाडौँ । नेपाली काँग्रेसका नेता ओमकार श्रेष्ठले विशेष महाधिवेशनले पार्टी संगठनलाई फुटाउने नभई अझ मजबुत बनाउन सहयोग गर्ने बताएका छन् ।
पार्टीको विशेष महाधिवेशन पक्षधरले बुधवार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन् । नेतृत्वले चुनावभन्दा अगाडि महाधिवेशन गरे पार्टी कमजोर बन्ने तर्क गरिरहेको भन्दै उनले त्यो तर्क तथ्यहीन भएको टिप्पणी गरे ।
नेता श्रेष्ठले तत्कालीन पार्टी सभापति सुवर्ण शमशेर राणाको प्रस्तावमा महाधिवेशन भई नेतृत्व हस्तान्तरण भएको इतिहास स्मरण गराउँदै अहिले पनि पार्टीलाई समयसापेक्ष अगाडि बढाउन नेतृत्व तयार हुनुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाका पहिचान र प्रभाव समेत ‘लहराले छोपिन थालेको’ टिप्पणी गरे ।
उनले भने, ‘विशेष महाधिवेशनले पार्टी फुटाउदैन । बरु विशेष महाधिवेशनले पार्टीलाई जुटाउँछ । किनभने समयसापेक्ष देशले नेतृत्व खोज्छ । त्यो नेतृत्व दिनको लागि पार्टी तयार हुनुपर्छ । पहिलो विशेष अधिवेशनमा श्रदेय नेता सुवर्णजी सभापति हुनुहुन्थ्यो । उहाँको आफ्नै प्रश्तावमा विषेश महाधिवेशन भएको थियो र नेतृत्व हस्तान्तरण भएको थियो । जसरी अहिले चुनाव अगाडि महाधिवेशन गराउँदा पार्टी कमजोर हुन्छ भन्ने कुरा आएको छ । जब कुनै घटना नै हुदैन भने मनमुटाव कहाँ हुन्छ । कि त अहिले नै मनमुटाव छ भनेर भन्नुप¥यो । अहिले मनमुटाव छैन भने त्यो बेलामा कुनै घटना हुँदै हुदैन । बिचरा शेरबहाुदरजीको पनि दुर्दशा, विचरा सोझो छ । इमान पनि छ , धेरै दुःख गरेका मान्छे पनि हुन् । योगदान पनि गरेका मान्छे हुन् । तर हुँदा हुँदा अहिले त कस्तो भयो भने शेरबहादुरजी जसरी उभिनुभएको छ । मक्किन थालिसक्यो । लहराहरु चारैतिरबाट चढेको छ । लहराले विरुवा छोपिसक्यो । शेरबहादुरजी देखिन पनि छोडिसक्नुभयो । कतै विषेश महाधिवेशन भन्नेहरुलाई नक्कली पनि भनेका छन् । भित्र शेरबहादुरजी हलचल नगरीकन बस्नुभएको छ । त्यो लहरालाई के डर छ भने रुख भाँचियो भने आफू भूइँमा पछारिन्छु भन्ने डर छ ।’
पार्टीका केही नेताहरुले विशेष महाधिवेशन प्रतिनिधिका हस्ताक्षरलाई नक्कली भन्ने गरेकोप्रति उनले आपत्ति समेत जनाए ।
