काठमाडौँ । नेकपा एमाले नेता महेश बस्नेत आफ्नै बोली र कार्यशैलीका कारण पछिल्लो समय युवा पुस्ताको तार्गेटमा पर्न थालेका छन् । बस्नेत पछिल्ला केही साताभित्र मात्रै युवाहरुको आक्रामण प्रयास र विरोधको घेराबन्दीमा परेका छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका बस्नेतमाथि मंसिर ७ गते इटहरीमा आयोजित जागरणसभा तथा जेनजी पुस्तासँगको अन्तरसंवाद कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगरमा आक्रमणको प्रयास भयो । उनीमाथिको सुरक्षा चुनौतीलाई मध्यनजर गरेरै प्रहरीले कडा सुरक्षाको व्यवस्था गरेपनि महेशमाथि एक युवाले आक्रमणको प्रयास गरेका थिए ।
यति मात्रै होइन, मंसिर ४ गते पनि महेश बस्नेत बारा आउने सूचना पाएपछि त्यहाँको जेनजी समूहले महेशविरुद्ध सिमरा विमानस्थलमै प्रदर्शन गरे । यसक्रममा एमाले निकट युवासंघ र जेनजी समूहबीच झडपसमेत हुन पुग्यो । यो घटनापछि सिमराको अवस्था असान्त बनेको थियो ।
उक्त तनाव शान्त पार्न स्थानीय प्रशासनले कफ्र्यु नै जारी गरेको थियो । यो परिस्थिति सृजना हुनुको मुख्य कारण पनि महेश बस्नेत नै थिए । मुख्यतः महेश बस्नेतसहितका एमाले नेताहरु मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउने कार्यक्रम तय भएपछि नै युवाहरु महेशविरद्ध प्रदर्शनको तयारीमा लागेका थिए ।
सुर्खेत र धनगढीमा पनि महेशको विरोध !
बारा र विराटनगरपछि महेशविरुद्ध सुर्खेत र धनगढीमा पनि विरोध प्रदर्शन भएको छ । मंगलबार युवा जागरण कार्यक्रमका लागि सुर्खेत पुगेका बस्नेतविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका छन् । यसपछि उनको सुरक्षाका लागि ठूलो मात्रामा प्रहरी खटाउनु परेको थियो । यस्तै बस्नेतविरुद्ध बुधबार धनगढीमा पनि विरोध प्रदर्शन भएको छ । बुधबार महेश कैलालीको पुगेका छन् । त्यहााँ पनि उनिविरुद्ध प्रदर्शन भएको हो ।
महेश किन टार्गेटमा परे ?
महेश बस्नेत सामाजिक संजालमा पनि सक्रिय पात्र हुन् । सामाजिक संजालमा उनले गर्ने केही टिप्पणी र राजनीतिक गतिविधिकै कारण पनि उनी पछिल्लो समय युवाहरुको टार्गेटमा परेका छन् । खासगरी जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको उद्धारमा सक्रिय रहेका कारणले पनि एमाले र ओलीप्रति आक्रोश पोख्ने युवाहरुले महेशलाई टार्गेटमा राखेका छन् । उनीमाथि आक्रमण प्रयास गर्ने र बारामा प्रदर्शन गर्ने युवाहरुले पनि यही विषयलाई इंगित गरेका छन् । बारा घटनापछि नै उनले राजवादी र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले अवरोध गरेको टिप्पणी गरेका थिए ।
उक्त घटनापछि महेश वर्तमान सरकार र प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि खरो टिप्पणीमा उत्रन थालेका छन् ।
पछिल्लो समय महेशले के भनेका थिए ?
जेनजी आन्दोलनले एमाले अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनामपूर्ण तवरले पदच्युत गरायो । यसपछि ओली सार्वजनिक हुनसमेत २ साता लाग्यो । ओली महेशकै साहारामा गत असोजमा गुण्डुबाट सार्वजनिक भएका थिए । यसपछि पहिलो पटक बसेको एमालेको बैठकपमा बोल्दै महेश बस्नेतले तागत भए केपी ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका थिए ।
जेनजी आन्दोलन र उक्त घटनापछि तत्कालीन घटनाको सम्बन्धमा छानविन गर्न गठित छानविन समितिले अध्यक्ष केपी शर्मा ओलीलाई पनि वयान लिने तयारी छ । यसपछि बस्नेत अझ आक्रामक अभिव्यक्ति दिइरहेका छन् । अर्कोतर्फ यो घटनाबाट ओलीलाई जोगाउन महेश अग्र स्थानमै रहँदै आएका छन् । उनी ओलीको रक्षाका लागि अग्र स्थानमा उभिँदै आएका छन् । तर महेशप्रति आम नागरिक र युवा पंति भने सन्तुष्ट देखिएका छैनन् । जुन कारणले पनि महेश जहाँ पुग्छन् त्यही विरोधका आवाज सुनिने गरेको हो ।
