News 24 Television
एमाले चुनावी लयमा फर्किँदा सरकार उत्साहित

काठमाडौँ । निर्धारित मिति अर्थात फागुन २१ मै आम निर्वाचन सम्पन्न हुने सम्भावना बढ्दै गएको छ । जेनजी आन्दोलनपछि भदौँ अन्तिममा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गर्ने म्याण्डेट पाएको छ । तर दलहरु निर्वाचनको मामलामा दायाँबायाँ गर्न खोज्दा सरकार नै संकटमा पर्ने स्थिति बनेको थियो । यद्यपि पछिल्लो समम प्राय सबै दलहरु निर्वाचनको तयारीमै लागेपछि निर्धारित मितिमै निर्वाचन हुने संभावना बढेको हो । मुख्यतः यो निर्वाचनलाई एमालेले अस्वीकार गर्दै आएको थियो । तर एमालेले मंगलबार मात्रै निर्वाचन आयोगमा आगामी निर्वाचनका लागि दल दर्ता गराएपछि निर्धारित मितिमै निर्वाचन हुने संभावना बढेको छ । 

सरकार उत्साहित !

सरकारको वैधानिकतामा बारम्बार प्रश्न उठाउँदै आएको नेकपा एमाले निर्वाचनको मनस्थितिमा पुग्दा सरकारले उत्साह प्रकट गरेको छ । एमालेको यो कदमले सरकारलाई समेत निर्वाचन गराउन आत्मविश्वास जगाएको प्रष्ट छ । यसपछि सरकारका मन्त्रीहरुनै अब निर्वाचन हुन्न कि भन्ने आशंका नरहने दावी गर्न थालेका छन् । 

निर्वाचन आयोगले दल दर्ताको लागि निवेदन दिने समयअवधि ४ दिनलाई थपेको छ । यसअघि दल दर्ताका लागि मंसिर १ गतेदेखि १० गतेसम्म मिति तय भएपनि आयोगले थप ४ दिन म्याद थप गरेर १४ गतेसम्म पु¥याएको छ । आयोगले तय गरेको पहिलो चरणको अवधिमै तत्कालीन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलसहित एक सयभन्दा बढी दलहरु आयोगमा दर्ता भइसकेका छन् ।  त्यस्तै १८ भन्दा बढी नयाँ दलहरु दर्ता प्रकृयामै रहेका छन् । उता मदताता नामावाली दर्ता तथा अध्यावधीको काम पनि निर्वाचन आयोगले सकिसकेको छ । आयोगका अनुसार यस पटक ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । 

दलहरुको तीव्र ध्रुवीकरण ! 

आगामी निर्वाचनका अग्रसरता देखाइरहेका दलहरुले निर्वाचनमा सामेल हुन तीव्र एकता र ध्रुवीकरणको राणनीति अपनाएको देखिन्छ । यस्तोमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाहेकका कम्युनिष्ट दलहरुलाई एकताको प्रकृयामा ल्याएका छन् । प्रचण्ड संयोजकत्वको नेपाली कम्युनिष्ट पार्टीमा दुई दर्जनभन्दा बढी कम्युनिष्ट दलहरु समाहित भइसके । प्रचण्डको यो कदम पनि निर्वाचनको तयारी नै हो । अर्कोतर्फ अन्य दलहरु पनि निर्वाचनका लागि चुनाव चिन्हमा साझेदारी गर्ने गर्ने मुडमा पुगेका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने लगभग निश्चित भएको छ । 

उता उर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको‘ हाम्रो नेपाल पार्टी’ले पनि एउटै चुनाव चिन्हमा निर्माचनमा होमिने तयारी गरेका छ । यी दुवै दलले अगामी आम निर्वाचनामा ‘उज्यालो नेपाल पार्टी’को बिजुलीको चिम चिन्हबाट चुनाव लड्ने भएका हुन् । उनीहरुले भावि दिनमा पार्टी एकता नै गर्नेसम्मको तयारी गरेका छन्  

यसरी नयाँ तथा पुरानै दलहरुले आगामी निर्वाचनका लागि एकता र ध्रुवीकरणलाई नै अंगालेर निर्वाचनमा होमिने तयारी गर्दा सरकारका लागि भने प्राप्त म्याण्डेट पूरा गर्ने आधार बन्दै गएको छ । मुख्यतः तत्कालीन समयमा सरकारको नेतृत्व गरेकै दल एमाले नै निर्वाचनको बाधक बन्ने खतरा थियो । तर पछिल्लो समय उसले संसद पुनस्र्थापनाको मुद्धासँगै निर्वाचनको औपचारिक तयारीमासमेत गरिरहेकाले आगामी फागुन २१ मा निर्वाचन हुने संभावना उच्च हुँदै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै एमाले निर्वाचनको पक्षमै रहेको औपचारिक अभिव्यक्ति दिनुले पनि स्पष्ट रुपमा निर्वाचनको माहोल सृजना गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update