कास्की । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल र तालबाराही मन्दिरमा पछिल्ला दिनमा दैनिक १५ देखि २० हजार पर्यटकहरु आउने गरेका छन् । जनेजी आन्दोलनले केही समय पर्यटन सुस्त पारे पनि हिजोआज फेरि फेवाताल पर्यटकले भरिँदा डुङ्गा व्यवसायीदेखि होटल व्यवसायीसम्म सबै उत्साहित देखिएका छन् ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल र तालबाराही मन्दिर पछिल्लो समय दैनिक १५ देखि २० हजार पर्यटकले भ्रमण गर्ने स्थल बनेको छ । आन्तरिक तथा बाह्य गरी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेपछि डुङ्गा व्यवसायीदेखि आसपासका होटल तथा व्यवसायिक क्षेत्र उत्साहित देखिएका छन् ।
फेवातालमा बिहानैदेखि नै डुङ्गा चढ्न लाइन लाग्ने गरेको छ । पर्यटकहरूको लागि तालको मनमोहक दृष्य, तालबाराही मन्दिरको अवलोकनमात्र नभई फोटो भिडियोको लागि विशेष गन्तव्य बनिरहेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले नकारात्मक असर परेपनि त्यसपछि पर्यटक आउनेको सङ्ख्या बढेकाले यसले पोखराको पर्यटन प्रवर्धनमा सकारात्मक सन्देश समेत दिएको छ । यहाँबाट देखिने प्राकृतिक दृष्यले फेवाताल घुम्न आएका पर्यटक खुसी देखिन्थे ।
पर्यटक आगमनसँगै तालछेउका स्थानीय व्यवसाय, रेष्टुरेन्ट, पसल तथा होटलहरूमा पनि कारोबार बढेको छ । पर्यटन क्षेत्रसँग जोडिएका व्यवसायीहरूले फेवातालको सौन्दर्य संरक्षण र पर्यटकमैत्री पूर्वाधार विस्तारमा सरकार र स्थानीय तहले ध्यान दिनुपर्ने सुझाव समेत दिएका छन् । तालमा पर्यटन गतिविधि चलायमान भएपछि यहाँका डुङ्गा व्यवसायीमा नयाँ ऊर्जा थपिएको छभने व्यवसायी उत्साहित छन् ।
नेपाल, भारतलगायत तेस्रो मुलुकका पर्यटकको आगमनमा निरन्तर वृद्धि हुँदै गएपछि पोखरा पुनः पर्यटनको लयमा फर्किएको र व्यवसायीलाई राहत पुगेको फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको भनाइ छ ।
पोखराको पहिचानका रूपमा रहेको फेवाताल र तालबाराही मन्दिरले देश–विदेशका पर्यटकलाई तानिरहेको छ । तर, फेवातालमा रहेको तालबराही मन्दिर पुनःनिर्माण सम्पन्न नहुँदा पर्यटक तथा दर्सनार्थीले भने खल्लो मन बनाएर फर्किने गरेका छन् ।
२०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर दक्षिणतर्फ ढल्किएपछि ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनःनिर्माणका लागि मन्दिर भत्काएको थियो ।
कुल एक करोड ४४ लाखको लागतमा पुनर्निर्माण हुन लागेको मन्दिरको काम ८० प्रतिशत सकिएको र लगातार निर्माणको काम अवरोध नभएमा आउँदो वैशाखसम्म सम्पन्न गरिसकिने ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
फेवाताल र तालबाराही मन्दिरमा बढ्दो पर्यटकको चहलपहलले पोखराको पर्यटन क्षेत्र पुनः उकासिदै गएको संकेत दिएको छ । यहाँको पर्यटन गतिविधि चलायमान बन्न थालेसँगै व्यवसायमा आएको सुधारले व्यवसायीमा आशा जगाएको छ ।
तालबाराही मन्दिरको पुनर्निर्माण कार्य निर्धारित समयमै सम्पन्न भइ व्यवस्थापन तथा संरचनात्मक सुधारहरू पूरा भएमा फेवाताल क्षेत्र अझ आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
