सप्तरी । सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गर्दै स्थानीय युवा, व्यापारीसहितका सम्बद्ध पक्षले सप्तरीस्थित सरकारी कार्यालयहरु बन्द गराएका छन् । स्थानीय बासिन्दाको आन्दोलनलाई स्थानीय तहहरुले पनि साथ दिएका छन् । आन्दोलनलाई एक्यवद्धता जनाउन गरेको आग्रह अनुसार जिल्लाका स्थानीय तहहरु बन्द गरिए भने सरमुकाममा सरकारी कार्यालयका सेवाहरु समेत प्रभावित भए ।
करदाता सेवा कार्यालय खारेज गर्ने संघ सरकारले गरेको निर्णयपछि सप्तरीका व्यवसायी, जेनजी, युवा, राजनीतिकर्मीहरू लगायतका सम्बद्ध पक्ष आन्दोलनमा रहेका छन् । उनीहरूले संघर्ष समिति गठन गरेर चरणबद्ध रुपमा सरोकारवालालाई ज्ञापनपत्र बुझाउनेदेखि जुलुस, धर्ना प्रदर्शनसहितका विरोधका कार्यक्रम गरिरहेका छन् ।
सरकारले उनीहरूको माग नसुनेको भन्दै मंगलबार उनीहरूले जिल्लास्थितका सरकारी कार्यालयहरू बन्द गराउँदै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि नाराबाजी गरे । राजविराजमै रहेको आन्तरिक राजश्व कार्यालय तत्कालिन माओवादी सशस्त्र युद्धकाबेला लहान सरेको थियो । राजश्व कार्यालयको विकल्पमा २०७५ सालमा राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो ।
करदाता सेवा कार्यालय पनि सरकारले खारेज गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् । आन्तरिक राजश्व कार्यालयको जग्गा, भवन, कर्मचारी आवासीय गृहसमेत राजविराजमा छ ।
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै गरिएको आन्दोनलका कारण मंगलबार सदरमुकाम राजविराजमा रहेका अधिकांश सरकारी कार्यालयका सेवा प्रभावित भएका छन् । यता जिल्लाका धेरै जसो पालिकाले भने सार्वजनिक सुचना जारी गर्दै विदा दिएका थिए ।
स्थानीयको माग प्रति एक्यवद्धता जनाउँदै बोदेबरसाइन, राजविराज, तिलाठी कोइलाडी, डाक्नेश्वरी, राजगढ लगायतका स्थानीय तहले मंगलबार सार्वजनिक विदा नै दिएका थिए । यी आन्दोलनबाट माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने स्थानीयको चेतावनी छ ।
पालिका तथा सरकारी कार्यालयहरु अवरुद्ध हुँदा सेवाग्राहीहरूको कामकाज प्रभावित भएको छ । संघीयताको मर्मअनुसार पनि नागरिकको सेवा सहज बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।
