कास्की । पोखरामा पर्वतीय महोत्सव–२०२५ शुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव पानी, खाना, जीविकोपार्जनदेखि सम्पूर्ण पर्वतीय जीवनका लागि अत्यावश्यक मानिने हिमनदी संरक्षणको संदेशसहित पर्वतीय संकट र समाधानका विषयमा केन्द्रित रहनेछ ।
अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसर पोखरामा पर्वतीय महोत्सव–२०२५ शुरु गरिएको छ । नेपाल पर्वतारोहण संघले तीन दिनसम्म सञ्चालन गर्ने दशौँ पर्वतीय महोत्सव–२०२५ विहीबारदेखि शुरु भएको हो । यस महोत्सव हिमनदीहरू पानी, खाना, जीविकोपार्जन र पहाड जीवनका लागि महत्वपूर्ण सन्देश दिन केन्द्रित रहने छ ।
हिमनदीको महत्व, जलवायु परिवर्तन तथा त्यसले पर्ने प्रभाव तथा न्यूनीकरणमा मानिसको भूमिका लगायतको विषय मुख्य रहेको छ । ३ दिन सम्म चल्ने महोत्सवमा पर्वतीय क्षेत्रसँग सम्बन्धित रहेर त्यहाँको पर्वत संस्कृति, पर्वतारोहण, वातावरण संरक्षण, जलवायु परिवर्तन तथा जोखिम, हिमनदीको महत्वका विषयमा विभिन्न अन्तरक्रिया र समूह छलफल हुनेछ ।
मानव, चराचुरुङ्गी, वनस्पति, जीवजन्तु सबैको जीवनका लागि पानी आवश्यक रहेको हुँदा पानीको मुख्य स्रोत हिमनदीलाई जोगाउनु पर्ने पर्वतीय महोत्सवमा जोड दिइएको छ । पछिल्लो समय हिमनदीको संरक्षणका विषयमा विश्वमै चासो र छलफलको विषय बनिरहेको छ ।
नेपाल हिमालको धनी देश भएपनि हिमालबाट बग्ने हिमनदीको महत्व नबुझ्दा मानव जीवन नै संकट तर्फ उन्मुख रहेकाले सबै पक्षले गहिरिएर बुझ्नुपर्ने विज्ञहरुको जोड़ छ । पर्यटन र वातावरणसँग मात्र सम्बन्धित नभई हिमनदी मानव जीवनसँग सम्बन्धित रहेकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
पछिल्लो समय विश्वमा देखिएको वातावरणीय असन्तुलनका कारण हिमाल–पहाडहरू जोखिममा छन् । नेपाल पनि त्यसको चपेटामा परेको छ । कार्बन उत्सर्जन गर्ने शक्तिशाली राष्ट्रहरूका कारण जलवायु परिवर्तनमा नकारात्मक असर पर्न जाँदा नेपालका हिमालहरूमा जोखिम झनै बढेको देखिन्छ ।
जसले गर्दा नेपालले सजाय भोगिरहेको हुँदा यसको न्यूनीकरणका लागि राज्य लागिरहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउँछन् ।
जलवायु परिवर्तनले हिमालमा पारेको नकारात्मक असरका कारण अहिले सिंगो विश्वलाई नै चिन्तित बनाइदिएको छ । हिमाली समुदायसँग प्रत्यक्ष रूपमा सम्बन्धित हिमनदी संरक्षण, जलस्रोत व्यवस्थापन र पर्वतीय वातावरण सुरक्षित राख्न सबै सरोकारवालाहरूको सहकार्य अहिलेको आवश्यकता बनेको छ ।
