News 24 Television
एनपिएल सुदूरपश्चिम भर्सेस् लुम्बिनी, उपाधि कब्जाको चाल, कोसँग कस्ता अस्त्र ?

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । 

राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी र उपकप्तान दिपेन्द्र नेतृत्वको सुदूरपश्चिम बीचको खेल रोमाञ्चक हुनेछ । 

साविक उपविजेता रहेको सुदूरपश्चिम च्याम्पियन बन्ने दौडमा हुँदा लुम्बिनी पनि इतिहास रच्ने धुनमा मैदानमा उत्रिनेछ । नेपाली क्रिकेटको कुम्भ मेला नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को उपाधी भिडन्तमा शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । 

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलले दुबै टोलीको भाग्य र भविष्य बदल्नेछ । साविक उपविजेता सुदूरपश्चिम उपाधि पाउने इच्छ्याका लागि घाइते बाघ समान हो ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्संग स्तब्ध हुँदै उपाधी चुम्न असफल सुदुरपश्चिम यसपटक मौका गुमाउँन चाहदैन । शनिबार दिउसो ३ः३० सुरु हुने फाइनल खेलमा लुम्बिनी लायन्स साइलेन्स किलरका रुपमा देखा परेको भने इतिहास रच्न चाहान्छ । 

दुबै टोली निकै बलिया र उत्कृष्ट देखिएका छन् । सुदुरपश्चिम सुरुवात देखि बलियो देखिदा लम्बिनीले पछिल्ला खेलमा उत्कृष्ट कमब्याक गरेको छ । पछिल्ला पाँच खेलमा सुदुरपश्चिमले एक खेल हार्दा लुम्बिनीले पाँचै खेलमा जित निकालेको छ । 

दुबै टोलीका प्रमुख अस्त्रका रुपमा को–को खेलाडी ? 

सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सहित विनोद भण्डारी, हरमित सिंह, अभिनाश बोहोरा, स्कट कुग्लेजेन प्रमुख हतियार हुनेछन् । 

साथमा इशान पाण्डे, नरेन साउँद र अरिफ शेखले महत्वपुर्ण भुमिका निभाइरहेका छन् । लुम्बिनीका लागि कप्तान रोहित केसी, शेर मल्ल, रुवेन ट्रम्पलमेन, डेरी सट, जेजे स्मिथ प्रमुख हतियार हुनेछन् । साथमा अभिषेश गौतम, तिलक भण्डारी, सन्दीप जोराको पनि उत्तिकै जिम्मेवारी हुनेछ । 

कुन टोलीको पक्ष कस्तो ?

सुदुरपश्चिम बलिङ, ब्याटिङ र फिल्डिङ अब्बल देखिएको छ । लुम्बिनीले बलिङमा अलि बढि उम्दा अनि ब्याटिङमा ठिकठाक देखिन्छ । तुलनात्मक रुपमा सुदुरपश्चिम बलियो देखिए पनि लुम्बिनी साइलेन्स किलरको रुपमा देखा परेको छ । 

अर्काेतर्फ फाइनल हो, दुबै टोलीका खेलाडी दबाबमै हुन्छन् जुन टोलीले दबाब थेक्न सक्यो उसैको पल्लाभारी हुने देखिन्छ । 

सुदूरपश्चिमको हालसम्मको नतिजा

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका अलराउन्डर दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदुरपश्चिम रोयल्सले समुह चरणमा ७ खेलमा ६ जित र एक हार व्यहारेको नतिजा छ । क्वालिफायर–१ मा विराटनगर किङ्सलाई ७७ रनले पराजित गरेको सुदुरपश्चिम च्याम्पियन नजिक पुगेको हो । बलिङ, ब्याटिङ र फिल्डिङमा उम्दा देखिएको सुदुरपश्चिमको अग्नि परिक्षा शनिबार हुनेछ । 

सुदूरपश्चिमको कोसँग जित ? कोसँग हार ?

–क्वालिफार– १ मा विराटनगर माथि ७७ रनको जित 

लिग चरणमा

–    चितवन राइनोज माथि ४९ रनको जित

–    जनकपुर बोल्ट्स माथि ६ विकेटको जित

–    लुम्बिनी लायन्स माथि ७ विकेटको जित

–    कर्णाली याक्स माथि ४५ रनको जित

–    पोखरा एभेन्जस माथि १८ रनको जित

–    काठमाडौँ गार्खाज माथि २९ रनको जित

–    विराटनगर किङ्ससँग ६ विकेटको हार 

लुम्बिनी लायन्सको हालसम्मको नतिजा

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनी लायन्सले लिगचरणमा चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको थियो । 

इलिमिनेटरमा काठमाडौँ गोर्खाज माथि ४ विकेट र क्वालिफायर–२ मा विराटनगर किङ्स माथि ४० रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । बलिया टोलीलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनी च्याम्पियनतर्फ अग्रसर देखिन्छ । 

लुम्बिनीको कोसँग जित ? कोसँग हार ?

–    इलिमिनेटरमा काठमाडौँ गोर्खाज माथि ४ विकेटको जित

–    क्वालिफायर–२ मा विराटनगर किङ्स माथि ४० रनको जित

लिग चरणमा

–    जनकपुर बोल्ट्स माथि ४ विकेटको जित

–    विराटनगर किङ्स माथि ५ विकेटको जित

–    पोखरा एभेन्जस माथि ३ विकेटको जित 

–    चितवन राइनोज माथि ६ विकेटको जित

–    सुदूरपश्चिम रोयलससँग ७ विकेटको हार

–    काठमाडौँ गोर्खाजसँग २२ रनको हार

–    कर्णाली याक्ससँग ९ विकेटको हार 

रोहित, दिपेन्द्र र विनोद उत्कृष्ट खेलाडीको दौडमा

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउनेछन् । यो रेसमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी, लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र सुदूरकै विकेटकिपर विनोद भण्डारी छन् । 

रोहितले बलिङ, ब्याटिङ र कप्तानी भुमिकामा अब्बलता देखाएका छन् । ९ खेलमा २ सय ६० रन प्रहार गरिसकेका छन् । सर्वाधिक रनको तेस्रो नम्बरमा रहेका रोहितले ७ विकेट समेत लिएका छन् ।

विनोद भण्डारीले सुदुरपश्चिमलाई फाइनलमा पुर्याउन नायकी प्रदर्शन गरिरहेका छन् । ओपनर ब्याट्सम्यानको भुमिका देखिने विनोद विकेट किपर पनि हुन् । ८ खेलमा २ सय ६४ रन प्रहार गरेर सर्वाधिक रनको दोस्रो स्थानमा रहेका भण्डारी कारका दाबेदार हुन् । सुदुरपश्चिमका कप्तान दिपेन्द्र अघिल्लो बर्षका कार विजेता खेलाडी हुन् । 

यसपटक पनि बलिङ, ब्याटिङ र फिल्डिङमा छाइरहेका दिपेन्द्र करणको दौडमा छन् । ८ खेलमा १ सय ४९ रन प्रहार गरेको दिपेन्द्रले ८ विकेट पनि लिएका छन् । फिल्डिङमा उनको कमाल प्रदर्शन रहेको छ । एनपीएल सिजन–२ को सर्वाधिक रनको शिर्ष स्थानमा पोखरा एभेन्जसका एडम रिसिङ्टोन रहेका छन् । उनले ७ खेलमा ३ सय २३ रन प्रहार गरका छन् । 

सर्वाधिक विकेट रेस सन्दीप अघि अविनाशालाई अवसर 

एनपीएल सिजन–२ मा सर्वाधिक विकेट लिनेको शिर्ष स्थानमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने रहेका छन् । 

सन्दीपले ९ खेलमा १७ विकेट लिएका छन् । उनी पनि उत्कृष्ट खेलाडीको रेसमा छन् तर प्रतियोगिताबाटै बाहिरिएपछि अन्य खेलाडीको सम्भावना बढेको छ । सर्वाधिक विकेटको दोस्रो नम्बरमा रहेको सुदुरपश्चिमका बल अविनाश बोहोरालाई सन्दीपलाई पछि पार्दै सर्वाधिक विकेट लिने खेलाडी बन्ने अवसर छ ।

८ खेलमा १६ विकेट लिएर दोस्रो स्थानमा रहेका अविनाशलाई फाइनल खेलमा दुई विकेट लिएर सर्वाधिक विकेटको ताज लिने अवसर रहेको छ । 

नयाँ च्याम्पियन !

पहिलो संस्करणको नेपाल प्रिमियर लिगेको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । ऐतिहासिक उपलब्धी हासिल गरेको जनकपर दोस्रो सिजन पुछारमा रहँदै प्रतियोगिता अन्त्य गर्योेे । यस्तो अवस्थामा दोस्रो सिजन नयाँ टोली च्याम्पियन हुनेछन् । शनिबार सुदूरपश्चिम वा लुम्बिनी कसको भाग्य खुल्नेछ प्रतिक्षाको विषयका बनेको छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update