सुनसरी । हिमाल, ताल, संस्कृति र खानाको स्वादसँगै अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्न पोखराका पर्यटन व्यवसायीहरू पूर्वी नेपाल पुगेका छन् । आउँदै गरेको २७ औँ पोखरा सडक महोत्सव तथा पोखरा भ्रमण वर्ष २०२५ को प्रवद्र्धनका लागि उनीहरूले इटहरी, धरान र विराटनगरमा पुगेर पूर्वेलीलाई पोखरा घुम्न खुला निम्तो दिएका छन् ।
पोखराको प्रवद्र्धन तथा आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यका साथ पोखराका पर्यटन व्यवसायी नेपालका पूर्वी जिल्लाहरुमा पुगेका छन् । पोखरा घुम्न आउने निम्तो दिँदै पोखरेली पर्यटन व्यवासायीको टोलीले आइतबार इटहरी, धरान, विराटनगरमा पर्यटन व्यवसायी तथा पत्रकारसँग भेटघाट कार्यक्रम गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा भेटघाट कार्यक्रम गरेको हो । पोखरा पर्यटन व्यवसायी टोली इटहरीसहित, धरान, विराटनगर, जनकपुर, भरतपुर लगायतका स्थानमा पुगी सडक महोत्सव तथा भ्रमण वर्षको बारेमा जानकारी गराउँदै निम्तो दिँदै हिँडेका छन् ।
यस्ता प्रवद्र्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउने र प्रत्यक्ष भेटघाटमार्फत गरिने निमन्त्रणाले पर्यटकको विश्वास बढाउनुका साथै गन्तव्य छनोटमा सकारात्मक प्रभाव पार्ने पोखराका पर्यटन व्यवसायीको बुझाइ छ । सडकमै खाऔं, सडकमै नाचौँ, सडकमै रमाऔं भन्ने नारासहित अंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सवमा निम्तो दिँदै पोखरामा हुने पर्यटकीय गतिविधिको जानकारी पोखराका व्यवसायीले दिएका छन् ।
सडक सञ्जालको सुधार, सहज यातायात तथा विविध पर्यटकीय आकर्षणका कारण अहिले पोखरा भ्रमणका लागि अनुकूल समय रहेको छ । आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्य स्थानमा प्रत्यक्ष पुगेर भ्रमणको निम्तो दिँदा आपसी सद्भाव कायम हुनुका साथै दुवै स्थानको पर्यटन प्रवद्र्धन हुने कार्यक्रममा सहभागीहरुले जनाएका छन् । एक स्थानका पर्यटन व्यवसायी अर्काे स्थानमा पुगेर भ्रमणको निम्तो दिँदा स्थानीय संस्कृतिबीच सद्भाव बढ्ने र पर्यटक आवागमन दुवैतर्फ विस्तार हुने उनीहरुको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले पोखरालाई चारै सिजन घुम्न मिल्ने प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न यस्ता प्रत्यक्ष प्रवद्र्धन कार्यक्रम प्रभावकारी हुने बताएका छन् । विशेष गरी पूर्वी नेपालका पर्यटकलाई लक्षित गरेर गरिएको यस अभियानले आपसी सद्भाव कायम राख्नका साथै आन्तरिक पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरिएको छ ।
