News 24 Television
तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही नहुँदा उठ्न सकेन निजी क्षेत्रको मनोबल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेन–जीहरुबीच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने गम्भीर चिन्ता पैदा भएको बताएका छन् ।

बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै ढकालले केही समयअघि जेन–जी समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशंका निजी क्षेत्रमा पैदा भएको बताए । उनका अनुसार तोडफोड र आगजनी गर्नेहरु कारबाहीको दायरामा आउनैपर्छ । त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न सकिँदैन ।

अध्यक्ष ढकालले भने– ‘केही समय पहिला जेन–जी र सरकारबीच एउटा सम्झौता भयो । त्यसमा भएको सम्झौताले कतै तोडफोड गर्ने आगजनी गर्ने, लुटपाट गर्ने, एउटा गलत व्यक्तिहरुलाई पनि कारबाही नहुने हो की भन्ने नीजि क्षेत्रमा संशय देखिएको छ । जहिलेसम्म निजी क्षेत्रमा लगानीका लागि कन्फिडेन्स हुन्न त्यतिबेलासम्म रोजगारी सिर्जनादेखि राजश्व बढ्न सम्म सक्दैन । दुखको कुरा नेपालमा नीजि क्षेत्रको योगदानलाई आम जनतामा उसले दिएको रोजगारीका कुराहरु भन्दा पनि नकारात्मक कमेन्ट बाहेक केही आउँदैन । त्यसले गर्दा आम पब्लिकलाई पनि हामीले बुझाउनुपर्नेछ । निजी क्षेत्र रोजगारदाता हो,राजश्व तिर्ने क्षेत्र हो, पूर्वाधार बनाउने काम पनि गर्छ, आम सर्वसधारणलाई सेवा दिने क्षेत्र हो, भन्ने हामीले म्यासेज दिन जरुरी छ । जहिलेसम्म दिन सकिदैन् त्यतिबेला सम्म हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा परिरहन्छ ।’

अध्यक्ष ढकालका अनुसार निजी क्षेत्रमा लगानीका लागि विश्वास नजागेसम्म रोजगारी सिर्जना र राजस्व वृद्धिको अपेक्षा गर्न सकिँदैन । 

एनसेलका निर्देशक डिल्लीराम श्रेष्ठले कम्पनीमाथि भएको आक्रमणबाट करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । उनले एनसेलको कर्पोरेट हाउसमा भएको आक्रमण केवल राजनीतिक कारणले मात्र नभई आपराधिक मानसिकताका कारण भएको बताए । उनका अनुसार पार्किङमा रहेका सवारी साधन जलाइए, कर्मचारीका सामान चोरी भए, त्यो अपराधिक मनशायले नै भएकाे हाे । त्यस्ता कार्य गर्ने जोकोहीलाई कारबाही हुनुपर्छ । उनले घटनापछि जाहेरी दिइए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै राज्यसँग प्रश्न उठाउनुपर्ने अवस्था आएको बताए । 

एनसेलका निर्देशक श्रेष्ठले भने– ‘एनसेलको कर्पोरेट हाउसमा जुन किसीमले आक्रमण भयो । त्यसबाट हामीले ६० करोडको नोक्सानी बेहोर्नु पर्यो । हामीमाथिको आक्रमण केवल राजनीतिक कारणमात्रै थिएन, अपराधिक मानशिकताले गर्दा नै थियो । जुन किसिमले हाम्रा सबारी साधनहरु पार्किङबाट माथि लगेर जलाइएको थियो । कर्मचारीको सरसमान चोरीएको छ । त्यही अनुसार हामीले जाहेरी पनि गरेका थियौं । अहिलेसम्म कुनै व्यक्ति पक्राउ परेको छैन । यति हुँदा हुँदैपनि राज्यले दिएको जुन जिम्मेबारी छ, त्यो जिम्मेबारी नागरिकको मौलिक हक सूचन र संचारको हकमा हामी अघि बढिरहेका छौं । हामीले राम्रोसँग काम गर्न सकेनौँ भने नागरिकको मौलिक हकलाई सुनिश्चित गर्न लागिपर्यौं ।’

एनसेल मौलिक हकलाई सुनिश्चित गर्न प्रतिवद्ध रहेको उनको भनाइ रहेको छ ।  उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले लगानीमैत्री वातावरण नबिग्रिएको बताए । उनका अनुसार पहिलेको जसरी नै लगानी आउने क्रम बढिरहेको छ, यसले निजी क्षेत्रको मनोबल खस्किएको देखिँदैन । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update