कास्की । खुलेआम कानुन विपरीत फेवातालको सिमसार क्षेत्र पुर्ने, अवैध उत्खनन र माटोको अवैध ओसारपसार गर्ने व्यवसायी युवराज खतिवडालाई कास्की प्रहरीले अभद्र मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ । खतिवडाले रिपोर्टिङका क्रममा रहेका न्युज २४ टेलिभिजनका गण्डकी व्युरो प्रमुख सुमन ढुंगानासहितका अन्य सञ्चारकर्मीलाई समेत दुव्र्यवहार गरेका थिए ।
घटना पुस ७ गते सोमबार दिउँसोको हो । फेवा तालको रामसार सूचिमा पर्ने सिमसार क्षेत्रमा कानुन विपरित धमाधम माटो पुर्ने कार्य भएको थाहा पाए पछि न्यूज २४ को टोली रिपोर्टिङका लागि त्यहाँ पुगेका थियो । हामीलाई प्राप्त सूचना अनुसार नै धादिङ घर भइ हाल पोखरा ५ बस्दै आएका व्यवसायी युवराज खतिवडाले आफै उपस्थित भएर ट्रिपका ट्रिप माटो ल्याएर धमाधम सिमसार क्षेत्र पुर्ने काम गरिरहेका थिए । त्यस पछाडी हामीले उनै खतिवडालाई नै सोध्यौँ सिमसार क्षेत्रलाई यसरी पुर्न पाइन्छ ? राजनीतिक दलको पहुँचको आडमा कानुन विपरित आफ्नो धन्दा चलाउदै आएका खतिवडाले हाम्रै क्यामेरामा म पुर्छ कसले के गर्छ भन्ने धम्किपूर्ण चुनौती दिए ।
ढुङ्गामाटोको अबैध ओसारपसार गदैँ ट्रिपर आउन थालेपछि उत्खनन भएको ठाउको खोजीमा हामी ट्रिपरको पछाडी लाग्यौ । पोखरा २४ लौरुकस्थित जंगलको फेदमा धमाधम स्काभेटर लगाएर अनुमती वेगर उत्खनन कार्य भइरहेको थियो ।
यो विषयमा लौरुकका स्थानीय वासिन्दाहरुसंग कुरा गर्दा युवराज खतिवडाको आतंकले निकै आक्रोसित देखिन्थे । खतिवडा कहाँको राजा हो, यसरी मनपरी गर्न पाइन्छ ? भन्दै स्थानीयले ट्रिपरले उडाएको धुँवाको कारणले गाउँमा बसिनसक्नु भएको गुनासो गरे ।
युवराज खतिवडाले माटो खनेको, ओसारपसार गरेको र पुरेको सबै गैरकानुनी कार्य भएको थाहा पाएपछि पोखरा २४ मा रहेको प्रहरी चौकी पामेमा हामी पुग्यौँ । सुरुमा प्रहरी चौकीकै अगाडीबाट अबैध ओसार भइरहेको थियो । हामी पुगे पछाडी प्रहरीले माटो ओसार्ने ट्रिपरहरुलाई रोक्न थाल्यो । आफ्नो अबैध धन्दामा प्रहरीले रोके पछि व्यवसायी खतिवडा आफै चौकीमा आइपुग्छन र प्रहरीलाई धम्काउदैँ ट्रिपर पास गराउँछन् ।
केही वेरमा खतिवडाको दादागिरी पोखराभरी चर्चाको विषय बन्छ र उनलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदामको टोली आइपुग्छ र खतिवडालाई पक्राउ गरेर लैजान्छ । आफु पक्राउ पर्ने थाहा पाए पछि खतिवडाले रिपोर्टिङ गर्न पुगेका न्युज २४ टेलिभिजनका प्रमुख सुमन ढुङ्गाना, हिमालय टिभिका पत्रकार विमल प्रसाद तिवारी र साथि न्यूज डटकमका पत्रकार सरोज अधिकारीलाई समेत दुव्र्यवहार गरेका थिए । प्रहरीले खतिवडालाई अभद्र व्यवहार मुद्धामा ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालेको छ ।
व्यवसायी खतिवडा यस अघि पनि पटकपटक फेवा तालको सिमसार पुर्ने कार्यमा संलग्न हँुदै आएका थिए । पोखरा महानगरपालिका र स्थानीय प्रशासनले जति रोक्ने प्रयास गरे पनि उनले लुकिछिपी र बलमिच्याइ गरेर सिमसार पुदैँ संरचना निर्माण गदै आएका थिए । जति गरे पनि उनको गैह्रकानुनी कार्य नरोकिए पछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक रुपमै सिमसार बचाउने अभियानमा महानगरलाई सघाउन अपिल पनि गरेका थिए ।
सर्वोच्च अदालतले २०७५ सालमा तालको संरक्षण गर्न परमादेश जारी गरेको थियो । तर, फैसलाको कार्यान्वयनमा ढिलाइ हुदाँ भू–माफियाहरुले फेवातालको सिमसार पुदैँ प्लटिङ गर्ने काम भने रोकिएको छैन । सिमसार पुरिदा जलचरको वासस्थान नष्ट हुनुको साथै तालको पारिस्थितिक प्रणालीमै गम्भिर असर परेको छ ।
