News 24 Television
कोशी सम्झौताले उठिबास लाग्दै, व्यवस्थापनका लागि सरकारको भरोषा

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी–८ तोपाका विपन्न सदा बस्तीका बासिन्दा कोशी सम्झौताका कारण बसिरहेको घर छोड्नु पर्ने अवस्थामा पुगेका छन् । शितलहर र चिसोले हायलकायल भएका उनीहरु घर छोड्न जिल्ला प्रशासन कार्यालय सप्तरीको पत्र आएपछि निकै तनावमा छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित कोशी पश्चिमी नहरको तटबन्धमा रहेको विपन्न सदा बस्तीका बासिन्दा उठिबास लाग्ने अवस्थामा पुगेका छन् । कोशी सम्झौता अनुसार पश्चिमी कोशी नहर तटबन्धको स्तरोन्नति कार्य भारत सरकारले सुरु गरेपछि मंसिर ८ गते जिल्ला प्रशासन सप्तरीले पनि स्थानीय तहलाई पत्राचार गर्दै वरिपरिको अतिक्रमण हटाउन भनेको छ । 

१५ परिवारको एक सय जना बढी बसोबास रहेको बस्तीका बासिन्दा दैनिकी ज्यालादारी गरेर छाक टार्ने भएकोले जग्गा किनेर घर बनाउने अवस्था उनीहरुको छैन । यता नहरको काम उनीहरुको घरभन्दा चार सय मिटर नजिकसम्म पुगिसकेको छ । यस्तोमा शितलहरकै बीचमा उनीहरुको उठीबास लाग्न लगभग पक्का छ । 

सदा बस्तीका बासिन्दाको कहिकतै जग्गा जमिन नभएले बसिरहेको ठाउँबाट उठ्नु परे कहाँ जाने भन्ने निश्चित छैन । त्यसैले जग्गा खाली गर्नुपर्ने सुचना आएदेखि उनीहरु न राम्रोसँग निदाउन सकेका छन् न खान नै । 

आफ्नो समस्या लिएर उनीहरू वडा कार्यालय पुगे । तर जग्गा नभएकोले कतै बसाल्न नसकिने बुझेपछि उनीहरु त्यहाँबाट फर्के । भारत सरकारले जग्गा लिने भएपछि नेपाल सरकारले आफुहरुलाई व्यवस्थित गर्नुपर्ने उनीहरुको माग छ । 
यता वडामा ऐलानी जग्गा भएपनि मिचिएकोले तत्कालै उनीहरुलाई व्यवस्थापन गर्न सकिने ठाउँ नरहेको वडाध्यक्ष सत्यनारायण यादव बताउँछन् । वडाले मात्रै यो समस्या समाधान गर्न नसक्ने भएकाले प्रदेश र संघ सरकारले सहयोग गर्नु पर्ने वडाध्यक्ष यादवको भनाइ छ । 

घर भत्काउनुभन्दा पहिलो आफुहरुलाई अर्कै ठाउँमा व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् । शितलहरमा उनीहरुको उठीवास लागे थप पीडा हुने भएकाले यसमा सरकारको शिघ्र ध्यान जानु जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update