काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिरक्षात्मक अवस्थामा पुगेका परम्परागत दल र सुशासन तथा भ्रष्टाचारविरोधी एजेन्डा बोकेका नयाँ राजनीतिक पात्रहरूबीच बढ्दो ध्रुवीकरणले मुलुकको सत्ता–सन्तुलन नै फेरिन सक्ने संकेत देखिएको छ ।
काठमाडौंका मेयर बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीचको छलफल तथा सम्भावित नयाँ राजनीतिक समीकरणले आगामी निर्वाचनलाई मात्र होइन दशकौँदेखि दोहोरिँदै आएको ‘म्युजिकल चियर’ को राजनीतिलाई पनि चुनौती दिने आकलन हुन थालेको छ ।
नेपालको राजनीतिमा अहिले स्पष्ट रूपमा दुई फरक धार देखिन थालेका छन् । एकातिर व्यवस्था परिवर्तनमा ऐतिहासिक भूमिका खेलेका तर समयसँगै जनविश्वास गुमाउँदै गएका पुराना राजनीतिक शक्ति छन् भने अर्कोतर्फ सुशासन, पारदर्शिता र जवाफदेहिताको नारा बोकेर उदाएका नयाँ शक्ति र व्यक्तित्वहरू छन् ।
यही दुई धारबीचको रस्साकस्सीले मुलुकको राजनीति नयाँ मोडतर्फ धकेलिँदै गएको संकेत गर्छ । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका कुलमान घिसिङको सम्भावित राजनीतिक समीकरणले चर्चा पाएको छ ।
यदी रवि, बालेन र कुलमान एउटै राजनीतिक एजेन्डा र साझा कार्यदिशासहित अघि बढे भने नेपाली कांग्रेस र नेकपा एमालेजस्ता परम्परागत दलहरूका लागि यो गम्भीर चुनौती बन्न सक्ने विश्लेषण भइरहेको छ ।
नेतृत्व संकट र बढ्दो निराशा
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पुराना दलहरूलाई थप प्रतिरक्षात्मक अवस्थामा पु¥याएको छ । भ्रष्टाचारविरोधी नारा, सुशासनको माग र राजनीतिक जवाफदेहिताको सवाल उठाउँदै सडकमा उत्रिएको युवा पुस्ताको आक्रोशले परम्परागत दलहरूको कमजोरी उजागर गरिदिएको छ ।
नयाँ पुस्ताको निराशा अझ गहिरिँदो छ । तत्कालीन प्रधानमन्त्री केपी ओली पुनः नेकपा एमालेको अध्यक्षमा चयन हुनु र नेपाली कांग्रेसमा शेरबहादुर देउवाका कुटिल चालले ‘राजनीतिमा पुस्तान्तरण सम्भव छैन’ भन्ने धारणा बलियो बनाएको छ । लामो समयदेखि सत्ता र शक्तिमा पुगेका नेताहरूले मुलुकलाई ठोस परिणाम दिन नसकेको आरोप नयाँ पुस्ताले खुला रूपमा लगाउँदै आएका छन् ।
यसकारण पनि रवि, बालेन र कुलमानको मिलनले निर्वाचनको मत परिणाम मात्र हौइन राजनीतिक ट्रयाक नै परिवर्तन हुने चर्चा बढी भएको हो ।
जेनजी आन्दोलन र राजनीतिक पुनर्संरचना
जेनजी आन्दोलन कुनै आकस्मिक घटना थिएन । पटक–पटक सत्ता र शक्तिमा पुगेका दलहरूले मुलुक बनाउनेभन्दा पनि सत्ताको दुरुपयोग र बेथितिमा आफूलाई सीमित राखेपछि युवाहरू सडकमा उत्रिएका थिए । त्यो विद्रोहले मुलुकको राजनीतिक चेतनामा ठूलो तरंग ल्याएको छ ।
यस आन्दोलनपछि एकातिर पुराना दलहरू अस्तित्व जोगाउन एक ठाउँमा उभिन बाध्य भएका छन् भने अर्कोतर्फ नयाँ शक्ति र स्वतन्त्र व्यक्तित्वहरू पनि आपसी तालमेलको आवश्यकता महसुस गर्न थालेका छन् । रवि–बालेन–कुलमान मात्र होइन, धरानका मेयर हर्क साम्पाङसम्मको सम्भावित सहकार्यलाई यही परिवेशको उपजका रूपमा हेरिएको छ ।
आशा कि अर्को भ्रम ?
रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङ र हर्क साम्पाङ एउटै राजनीतिक मोर्चामा उभिए भने दशकौँदेखि चल्दै आएको तीन ठूला दलको ‘म्युजिकल चियर’ राजनीति अन्त्य हुने आशा धेरैले गरेका छन् । तर, यो सम्भावनासँगै गम्भीर शंका पनि जोडिएको छ ।
लोकप्रियता, आक्रोश र प्रतिशोधको राजनीतिमा सीमित हुने हो भने वैकल्पिक शक्तिले पनि पुरानै गल्ती दोहो¥याउने खतरा रहने चर्चा पनि भैरहेको छ । पुराना दलहरू सत्ता जोगाउने रणनीतिमा अल्झिएका छन् भने नयाँ शक्ति अझै स्पष्ट रोडम्याप निर्माणको चरणमै छन् ।
