News 24 Television
मुख्यमन्त्री बनेपछि पार्टी फेर्दै आफैलाई मुख्यमन्त्री बनाउनेविरुद्ध उम्मेदवारी, मतदाता पनि निशानामा !

सप्तरी । सप्तरीमा मत माग्न आएका उम्मेदवारलाई मतदाताले प्रश्न गर्दा उम्मेदवारले मतदातालाई नै दुव्र्यवहार गरेको आरोप लागेको छ । प्रतिनिधिसभा सदस्यको लागि सप्तरी–२ मा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रश्न गर्ने मतदातालाई दुव्र्यवहार गरेको आरोप चर्किन थालेको छ । 

मधेस प्रदेशको सप्तरी–२ मा सोमबार तिलाठी कोइलाडी गाउँपालिका– ५ कुसहा टोलमा प्रचारप्रसारको लागि पुगेका मधेसका पूर्वमुख्यमन्त्री सतिसकुमार सिंहलाई मतदाताले प्रश्न गर्दा उनले मोबाइल खोसेर दुव्र्यवहार गरेको आरोप लागेको छ । 

जनमत पार्टी र सिंह निर्वाचनमा होमिएको स्वाभिमान पार्टीले एकै ठाउँमा बेग्लाबेग्लै प्रचार गरिरहँदा त्यहाँका युवाले उनलाई किन अलग भएको भन्दै प्रश्न गरेका थिए । प्रश्नपछि आक्रोशित बनेका उनले जवाफ नदिई मोबाइल खोसेर धाक धम्की दिएको पीडित परमेश्वर साहको आरोप छ । 

सिंहलाई मतदातामाथि किन आक्रोश भन्ने प्रश्नमा भने उनले अहिले सार्वजनिक प्रतिक्रिया नदिने भन्दै आएका छन् । मतदातामाथि जाइलागेका सिंहले छोटो प्रतिक्रिया दिदै गलत प्रचार गरिएको आरोप लगाए । जनमत पार्टीमा बसेर काम गर्ने वातावरण बन्न नसक्दा आफू फरक राजनीतिक यात्रामा लागेको दाबी गरे ।

को हुन सतिश ?

मधेश पूर्वप्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 

२०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट पालिका अध्यक्षको लागि पुनः निर्वाचन लडे तर उनी निकै मतान्तरले पराजित भए । लगत्तै २०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा लोसपा त्यागदै उनी जनमत पार्टीबाट सप्तरी २(क)बाट निर्वाचनमा होमिए । 

सो बेला यस क्षेत्रमा जनमत पार्टीको निकै लहर थियो । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य प्रत्यासी सीके राउतसँग लडेका सप्तरी २(क) र (ख)का दुवै उम्मेदवार निर्वाचित भए । सिंह मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि १५ महिना बढी सरकारको नेतृत्व गरे । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उनी विवादमा घेरिए । 

आन्दोलनका बखत फेसबुकमा राजीनामा दिएर पछि भनाईबाट पञ्छिएपछि उनी विवादित बने । परिमाणस्वरूप उनलाई पार्टीले मुख्यमन्त्रीबाट फिर्ता बोलायो । यद्यपी उनी पार्टीको विपरित सदनमा विश्वासको मतको लागि आह्वान गरे तर सो दिन उनको पक्षमा कोही नबसेको हुँदा उनी रोष्टमबाट राजीनामा दिए । 

प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपछि जनमत पार्टी त्यागेर अहिले उनी आफ्नै भाइ सत्यवान सिंह नेतृत्वको स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा लडेका छन् । पछिल्लो तीन बर्षमा उनको यो तेस्रो पार्टी यात्रा हो ।  

के भन्छन् मतदाता ?

प्रदेशसभा सदस्यमा पाँच वर्षको लागि निर्वाचित भएका सिंह बिचमै पद छोडेर प्रतिनिधिसभा सदस्यका लागि चुनावमा होमिएपछि उनको आलोचना भइरहेकोछ । मतदाताले सिंहको कदमलार्ई पद लोलुप्तादेखि जिम्मेवारीबाट भागेको आरोप लगाईरहेका छन् ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसंग स्वाभिमान पार्टीका सतिसकुमार सिंहले नै चुनौती दिएका छन् । उसोतः गरिबलाई कोही नेताले नहेर्ने गरेको उनीहरुको गुनासो छ ।

यो क्षेत्रमा एमालेबाट मोहम्मद जियाउल रहमान, कांग्रेसबाट राम कुमार यादव, नेकपाबाट सुर्यनाथ प्रसाद यादव र रास्वपाबाट रामजी यादवसहित ९८ जना उम्मेदवारहरु निर्वाचनमा प्रतिष्पर्धामा रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update