News 24 Television
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं

कास्की । अहिले सुन्तला खाने मौसम हो । नेपालमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ   पोखरामा पहिले धेरै ठाउँमा सुन्तला खेती भए पनि पछिल्लो समय घट्दै गएको देखिन्छ, तर थोरै ठाउँमा खेती भएपनि स्याहार सम्हार गर्ने कृषकहरुले भने सुन्तलाबाटै लाखौ आम्दानी गर्दै आएका छन् । 

सुन्तला खेतीमा लागेका पोखरा २१ का किसानहरु यती बेला दंग छन् । यहाँका कृषकले सुन्तला खेतीबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । सुन्तलाका बगैचामा यतिबेला सुन्तला उत्पादन राम्रो हुँदा बोटले धान्नै गा¥हो हुने गरी फलेका छन् । रुखका हाँगा पनि सुन्तला धान्न नसकेर भुई तर्फ टेकेका छन् । हजुरबुवाको पालादेखि घरमा खानकालागि लगाएको सुन्तला अहिले आम्दानीका ठुलो स्रोत भएको छ ।   यहाँको सुन्तला मिठो र ताजा हुने भएकाले किन्ने ग्राहकहरू घरमै आउने गरेका कृषक बताउँछन् । अहिले ६० रुपैयाँ देखी १३० रुपैयाँ सम्ममा सुन्तला बिक्रि भैरहेको छ । 

यता ठेकेदारले सुन्तला बगौचा नै ठेक्कामा लिएर सुन्तला विक्रिका लागि काठमाडौं लैजाने गरेका छन् । यस क्षेत्रको सुन्तलाको पोखरा र काठमाडौ मुख्य बजार हो । यसरी बजारको माग बढ्दै गएको हुँदा सुन्तलाबाट मनग्य आम्दानी गर्दै आएको र आफूहरु सन्तुष्ट रहेको कृषकको भनाइ छ ।

पोखरामा सुन्तला खेती राम्रो हुने भएकाले पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन तथा कृषक प्रोत्साहन स्वरुप पछिल्लो चार वर्षमा करिब १ करोड रुपैया अनुदान दिइसकेको छ । 

सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा कमि आउने हुदाँ त्यसलाई ख्याल गनुपर्ने पोखरा महागनरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउछन् । अहिले पोखरामा सुन्तला खेतीको उत्पादन देखेर अन्य कृषकहरूलाई समेत प्रोत्साहन बनेको कडरियाको भनाइ छ ।

पहिले सुन्तलाको खेती तथा उत्पादन पोखरा बजार क्षेत्रमा नै हुने गरेपनि पछिल्लो समय भने उत्पादन हुन छाडेको छ । अहिले विशेषगरी पोखराको २१ र २२ नम्बर वडामा सुन्तला खेती तथा उत्पादन राम्रो हुने गरेको छ । त्यसमा पनि पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे राम्रो उत्पादन क्षेत्र हो ।  

पोखरा महानगरमा ३ सय हेक्टरमा करिब ३० हजार सुन्तलाका बोट उत्पादनशिल अवस्थामा रहेको छ । जसमा यसपटक १० करोड बराबरको कारोबार हुने अनुमान महानगरको छ । यता कास्की जिल्लामा एक हजार ३५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७ सय ८० हेक्टरमा मात्रै सुन्तला खेती गरिँदै आएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update