रुपन्देही । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टूर रुपन्देहीको भैरहवा पुगेको छ । च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टूर अन्तर्गत मंगलबार भैरहवामा ट्रफी ल्याइएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टूर भैरहवा पुगेको छ । मंगलबार बिहान बुद्ध जन्मस्थल लुम्बिनी लगेर ट्रफी दिउँसो भैरहवास्थित सिद्धार्थ रंगशालामा ल्याएर सेलिब्रेसन गरिएको थियो ।
रंगशालामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले ट्रफीसहित सहभागी विजेता टीम लुम्बिनी लायन्सलाई स्वागत गरे । ट्रफी सेलिब्रेसन कार्यक्रममा सहभागीहरुले क्रिकेटले लुम्बिनीलाई मात्र नभई नेपाललाई नै चिनाएको बताए ।
एनपीएल विजेता लुम्बिनी लयान्सलाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ११ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, क्रिकेटप्रेमी, सर्वसाधरण लगायतको उपस्थिति थियो ।
रुपन्देहीमा ट्रफी टूर गराएसँगै लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ । बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर (बिआइसिसी) मा साँझ ५ देखि १२ बजेसम्म हुने चर्चित लोकगायक बद्री पंगेनी, दुर्गेश थापा, तेरिया मगर, दी ईलेमेन्ट्स ब्याण्ड लगायतको प्रस्तुती रहने आयोजकले छ ।
च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुको भ्रमण गराइएको छ । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।
