झापा । झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’का रूपमा मनाउने घोषणा गरिएको छ । जिल्लामा पढ्ने संस्कारलाई संस्थागत गर्ने उद्देश्यसहित १०० भन्दा बढी शैक्षिक, साहित्यिक, सामाजिक तथा सञ्चारसम्बद्ध संघसंस्था एकजुट भएका छन् ।
स्थानीय पालिकाका जनप्रतिनिधिहरूले यस अभियानलाई स्वागत गर्दै आवश्यक सहकार्य र स्रोत व्यवस्थापनमा साथ दिने प्रतिबद्धता समेत जनाएका छन् ।
झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्षका रूपमा मनाउने घोषणा गरिएको छ । साहित्य प्रतिष्ठान, विद्यालय–कलेज, पत्रकार महासंघ, सञ्चार संस्था, पुस्तकालय, युवा क्लब तथा नागरिक समाजका प्रतिनिधिहरूको संयुक्त पहलमा यो अभियान अघि बढाइएको हो ।
अभियानले बालबालिका, किशोर किशोरी, युवा तथा अभिभावकसम्म पुस्तक पढ्ने बानी विकास गराउने, सार्वजनिक पुस्तकालयलाई जीवन्त बनाउने र डिजिटल युगमा कमजोर बन्दै गएको गहिरो पठन संस्कृतिलाई पुनःस्थापित गर्ने लक्ष्य लिएको छ ।
अभियानअन्तर्गत वर्षभर पुस्तक मेला तथा प्रदर्शनी, लेखक–पाठक संवाद, विद्यालयस्तरीय वाचन तथा समीक्षा कार्यक्रम, सार्वजनिक वाचन अभियान र स्थानीय लेखकका कृतिमाथि नियमित बहस सञ्चालन गरिनेछ ।
पालिकासँग सहकार्य गरी स्थानीयस्तरमा नै पठन केन्द्र स्थापना गर्ने योजना पनि समेटिएको छ । झापाली साहित्यकारहरूले पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल प्रविधिको अत्यधिक प्रयोगले पठन संस्कृतिमा गिरावट आएको उल्लेख गर्दै अब सामूहिक र योजनाबद्ध अभियान आवश्यक भएको बताए ।
स्थानीय पालिकाका जनप्रतिनिधिहरूले अभियानलाई स्वागत गर्दै आवश्यक सहकार्य र स्रोत व्यवस्थापनमा साथ दिने प्रतिबद्धता समेत जनाएका छन् । त्यस्तै रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले पठन संस्कृतिको विस्तारले शैक्षिक गुणस्तर सुधारसँगै सिर्जनशील र समालोचनात्मक सोच विकासमा दीर्घकालीन प्रभाव पार्ने बताउँछन् ।
बिहिवारबाट सुरू हुने नयाँ बर्ष २०२६ सँगैँ ‘पठन संस्कृति वर्ष’का रूपमा मनाउन यस अघि नै एक सय बढी संस्थाले प्रतिबद्धता जनाइसकेका छन् । यो अभियानलाई सफल पार्न जोडिने संघसंस्था बढ्ने क्रम अझै जारी छ । झापाबाट सुरु भएको यो पहलले देशभर पठन संस्कृतिलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।
