कास्की । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउने दाबी गर्दै पार्टी सभापति रवि लामिछानेले समानुपातिकतर्फको बन्दसूची सच्याइने बताएका छन् । पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले हतारमा सूची बुझाउँदा केही कमजोरी भएको स्वीकार गरेका छन् भने विवादित नामहरु हटाइने स्पष्ट पारे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । पोखरामा पत्रकारसँग कुरा गर्दै उनले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा देखिएका कमजोरी सच्याइने बताएका हुन् ।
लामिछानेले हतारमा बन्दसूची बुझाउँदा केही त्रुटि भएको स्वीकार गर्दै पार्टीले बोक्न नपर्ने एक जना व्यक्ति पनि सूचीमा नराखिने बताए । निर्वाचन आयोगमा सूची सच्याउन अझै दुई दिनको समय बाँकी रहेको उल्लेख गर्दै केही नामहरू हटाइने उनले स्पष्ट पारे । रास्वपाले बुझाएको समानुपातिक सूचीमा नेताका परिवारका सदस्य समावेश गरिएको भन्दै आलोचना भइरहेको थियो ।
सभापति लामिछानेले विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकको राजनीतिक चेतनालाई कम आँक्न नहुने बताए । सबै क्षेत्र र वर्गको प्रतिनिधित्व प्रतिनिधि सभामा गराउने उद्देश्यका साथ उम्मेदवार चयन गरिएको उनको भनाइ छ ।
जनताले आशा र भरोसा गरेका व्यक्तिलाई पार्टीले अघि सारेकाले बहुमत हासिल गर्ने दाबीसमेत उनले दोहो¥याए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि बढाउनु परिवर्तन र जेनजी आन्दोलनको मर्मअनुसारको निर्णय भएको बताए ।
अर्को प्रसंगमा उनले मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङसँग भागबण्डा नभई जिम्मेवारीको बाँडफाँड मात्र गरिएको स्पष्ट पारे । सहमतिमा मागबण्डा नभएको र जिम्मेवारी स्पष्ट रूपमा तोकिएको उनको भनाइ छ । बालेन र कुलमानसँगको सहमतिपछि देशभर सकारात्मक उत्साह देखिएको र आम नागरिकले त्यसलाई स्वागत गरेको पनि उनले जिकिर गरे ।
