काठमाडौं । हार स्वीकार गर्न नसकेर राप्रपा छाडेर हिडेका कमल थापा चार वर्षपछि पुनः पुरानै पार्टीमा फर्किएका छन् । थापाले बुधबार ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै आफू नेतृत्वको राप्रपा नेपाललाई मूल पार्टी राप्रपामा विलय गराएका हुन् ।
जेनजी आन्दोलनपछि नयाँ तथा पुराना लोकतान्त्रिक शक्तिहरुबीच एकता र ध्रुवीकरण भइरहँदा राजावादीहरुले पनि राजावादी र हिन्दुवादी शक्तिहरूको ध्रुवीकरणतर्फ जोड दिएका हुन् ।
२८ फागुन २०७६ मा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा पोडियममा उभिएका कमल थापाले हिन्दु धार्मिक ग्रन्थ गीता हातमा बोकेर भनेका थिए, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न ।’ तर, त्यसको ठीक दुई वर्षपछि २०७८ माघ २५ गते सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले हार स्वीकार गर्न सकेनन् ।
पूर्वराजा र निर्मल निवासबाट हस्तक्षेप भएको आरोप लगाउँदै उनले राप्रपाबाट अलग हुने निर्णय गरे । र, राप्रपा नेपाल गठन गरे । उनै थापा चार वर्षपछि, त्यही ‘मूल घर’ राप्रपामा फर्किएका छन् ।
६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै उनले नेतृत्व गरेको राप्रपा नेपाललाई औपचारिक रूपमा राप्रपामा विलय गराएका हुन् । राप्रपाको ३५ वर्षे राजनीतिक यात्रामा हालसम्म ६ पटक विभाजन र ७ पटक एकता भइसकेको छ । नेतृत्व विवाद, पदप्रतिष्ठाको संघर्ष, सत्ताको मोह र वैचारिक मतभेदले पार्टी निरन्तर विभाजन र एकताको चक्रमा रुमलिँदै आएको छ ।
कमल थापाको पछिल्लो पुनरागमन पनि यही परम्पराको निरन्तरता हो कि नयाँ सुरुवात ? यसको मूल्याङ्कन भने समयले गर्नेछ । तर, पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रम, राजावादी र हिन्दुवादी शक्तिहरूको सम्भावित ध्रुवीकरण, तथा आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै दुई नेताहरूबीच पुनर्मिलन भएको राप्रपा कार्यकर्ताहरुको बुझाइ छ ।
सधैं सत्ताको केन्द्रमा रहन चाहने नेताका रूपमा चिनिँदै आएका नेता राप्रपा छाडेरपछि चार वर्षदेखि शक्तिविहीन बन्न पुगेका छन् ।
कमजोर हुँदै गएको आफ्नो राजनीतिक प्रभाव पुनःआर्जन गर्ने उद्देश्यसहित उनी राप्रपामा फर्किएका हुन् । ‘निःशर्त एकता’ भन्दै पार्टीमा फर्किएका थापाको औपचारिक भूमिका भने सार्वजनिक गरिएको छैन । यद्यपि, राप्रपाले उनलाई पूर्वअध्यक्षको हैसियतमा सम्मान गरिने जनाएको छ ।
पार्टी विधानअनुसार निवर्तमान अध्यक्ष दोस्रो वरियतामा रहने व्यवस्था भएकाले एकतापछि थापा अध्यक्ष लिङ्देनपछिको दोस्रो स्थानमा रहनेछन् ।
राष्ट्रिय सभागृहमा आयोजित एकता कार्यक्रममा पूर्व अध्यक्ष थापाले वर्षौँपछि घर फर्किएको अनुभूति सुनाएका थिए । जवाफमा अध्यक्ष लिङ्देनले कमल थापालाई ‘दाइ’ भनेर सम्बोधन गर्दै रिक्तता पूरा भएको टिप्पणी गरे । पार्टी विभाजनपछि दुई नेताबीचको तित्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो । त्यसैले विगतलाई नराम्रो सपना सम्झिएर विर्सिन लिङदेनले आग्रह गरे भने थापाले जेनजी आन्दोलनपछिको अवस्थालाई स्मरण गरे ।
नेताहरूले एकताको उत्सव मनाइरहँदा, राप्रपाभित्रैबाट भने फरक आवाज पनि उठेको छ । वर्तमान राजनीतिक परिस्थितिमा राप्रपा र राप्रपा नेपालबीचको एकता आवश्यक थियो कि थिएन भन्ने विषयमा पुनरावलोकन हुनुपर्ने तर्क केही केन्द्रीय सदस्यहरूले अघि सारेका छन् । राप्रपाले पुरानै अनुहार र सोच दोहो¥याउनु भन्दा नयाँ राजनीतिक यथार्थ, जनअपेक्षा र वैकल्पिक शक्तिहरूसँग सहकार्यको सम्भावना खोज्नुपर्ने उनीहरुको बुझाई छ ।
तर, थापाको पुनरागमनले राप्रपामा तत्कालीन संगठनात्मक बल त थपिने भएपनि विगतका विवाद, नेतृत्व संघर्ष र फुटको इतिहासले उठाएका प्रश्नहरू अझै अनुत्तरित छन् । यो एकता दीर्घकालीन राजनीतिक पुनर्जागरणतर्फको कदम हो वा फेरि अर्को फुटको आधार ? त्यसको उत्तर आगामी समयले दिनेछ ।
